काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिँदै विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगको जेठ ६ गतेको निर्णयअनुसार महाधिवेशनका लागि आवश्यक साङ्गठनिक र निर्वाचनसम्बन्धी प्रक्रियाहरूको समयसीमा तय गरिएको हो ।
केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङद्वारा जारी परिपत्रअनुसार ७७ वटै जिल्ला र सातै प्रदेशमा निर्वाचन समिति गठन गर्ने कार्यलाई प्राथमिकता दिइएको छ ।
प्रदेश र जिल्ला समितिहरूले जेठ १५ भित्र समिति गठन गर्नुपर्ने र सोको कागजात जेठ १० भित्र निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ।
महाधिवेशन प्रतिनिधि नामावली जेठ २५ भित्र पेस गर्नुपर्ने तथा जिल्ला अधिवेशन प्रतिवेदन जेठ मसान्तभित्र अनिवार्य बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
महाधिवेशनलाई प्रविधिमैत्री बनाउन इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने तयारी पनि भइरहेको छ। तयारी व्यवस्थित बनाउन पार्टीले आन्तरिक परिचालन तीव्र बनाएको छ।







