काठमाडौँ। विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित त्रिदेशीय श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई १२२ रनले पराजित गरेको छ। उत्कृष्ट ब्याटिङ र धारिलो बलिङको प्रदर्शन गर्दै नेपालले प्रभावशाली जित दर्ता गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनायो। ३१८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १९५ रनमै अलआउट भयो।
अमेरिकाका लागि सञ्जय कृष्णमूर्तिले सर्वाधिक ५६ रन बनाए। नोस्थुश केन्जिगेले २९, शायन जहाँगिरले २७, शेहन जयसूर्याले २६, साइतेजा मुक्कमल्लाले २२, मिलिन्द कुमारले १२ तथा सौरभ नेत्रवाल्करले १० रन जोडे।
नेपालका बलरमध्ये सन्दीप लामिछानेले ३ विकेट लिए। दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी र गुल्सन झाले समान २–२ विकेट हात पार्दा सोमपाल कामीले १ विकेट लिए।
यसअघि नेपालका लागि इशान पाण्डे र दीपेन्द्र सिंह ऐरी चम्किएका थिए। इशानले ८३ बलमा ८ चौका र १ छक्कासहित ८४ रन बनाए। उनले कप्तान रोहित पौडेलसँग तेस्रो विकेटका लागि ११० रनको महत्वपूर्ण साझेदारी गरेका थिए।
कप्तान रोहित पौडेल ४६ रनमा एलबिडब्लु आउट भए। उनले २ चौका र १ छक्का प्रहार गरे। ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ६९ रनको साझेदारी गरे। भुर्तेल २९ रनमा आउट हुँदा आसिफले ४३ रनको योगदान दिए।
अन्तिमतिर दीपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै ३६ बलमा ४ चौका र ४ छक्कासहित ५९ रन बनाए। उनी रनआउट भए। गुल्सन झाले १५ रन बनाए भने आरिफ शेख १८ रनमा अविजित रहे।







