कालंगा हाइड्रोको आईपीओ खुल्यो, बीस हजार कित्तासम्म आवेदन दिन पाईने

काठमाडौं । कालंगा हाइड्रो लिमिटेड ले आज जेठ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले उक्त आईपीओ जेठ १३ गतेसम्म बिक्रीमा ल्याएको हो ।

यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरिसकेको कम्पनीले अब सर्वसाधारणमा शेयर बिक्री खुला गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत बराबर ४९ करोड रुपैयाँ मूल्यका प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको थियो ।

जसमध्ये १४ लाख कित्ता आयोजना प्रभावितलाई तथा ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँड गरिसकिएको कम्पनीले जनाएको छ ।

बाँकी शेयरमध्ये १ लाख ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र १ लाख ५ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी २८ लाख ७० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गरिएको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यदि जेठ १३ गतेसम्म पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि जेठ २२ गतेसम्म थप हुन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *