सिरहाको ।सिरहा कञ्चनपुर–कमला सडकखण्ड विस्तार आयोजना फेरि लम्बिने भएको छ।
छ वर्षअघि सुरु भएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत ८६.८३ किलोमिटर सडक विस्तारको काम हालसम्म ६८ प्रतिशत मात्रै सम्पन्न भएपछि चौथोपटक म्याद थप्ने तयारी गरिएको हो।
एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सञ्चालित आयोजनाको ठेक्का २०७७ असारमा चिनियाँ कम्पनी ‘चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप’सँग सम्झौता भएको थियो।
२०८० कात्तिकभित्र सम्पन्न हुनुपर्ने आयोजना विभिन्न कारणले पटक–पटक म्याद थपिँदै अहिले आगामी असार १६ सम्म पुगेको छ।
आयोजना कार्यालयका अनुसार पूर्वी खण्डमा ३९.४२ किलोमिटरमध्ये २४.५८ किलोमिटर र पश्चिमी खण्डमा ४७.४१ किलोमिटरमध्ये ३५.६१ किलोमिटर सडक मात्रै कालोपत्र भएको छ।
कोरोना महामारी, रुख कटान, विद्युत्का पोल तथा ट्रान्सफर्मर नसारिनु र निर्माण कम्पनीको वित्तीय समस्याका कारण काम प्रभावित भएको जनाइएको छ।
ढिलासुस्तीका कारण आयोजनाको लागत पनि बढेको छ। सुरुवाती अनुमानभन्दा करिब तीन अर्ब रुपैयाँ अतिरिक्त भार थपिएको आयोजनाले जनाएको छ।
कुल १५ अर्ब ६६ करोड लागतको आयोजनामा एडिबीको ७१.२२ प्रतिशत र नेपाल सरकारको २८.७८ प्रतिशत लगानी रहेको छ।
स्थानीय व्यवसायी र सर्वसाधारणले सडक निर्माणमा ढिलाइ हुँदा धुलो, हिलो र खाल्डाखुल्डीका कारण दैनिक सास्ती खेप्नुपरेको गुनासो गरेका छन्।
लहान, गोलबजार र मिर्चैयालगायत क्षेत्रका व्यवसायीले व्यापारसमेत प्रभावित भएको बताएका छन्।






