बाजुरा । धार्मिक तथा पर्यटकीय स्थल बडिमालिका दर्शनका लागि गएका एक तीर्थयात्रीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता एवं प्रहरी निरीक्षक नरेशबहादुर शाही का अनुसार मृत्यु हुनेमा भैरहवा घर भएका तथा हाल राष्ट्रिय सतर्कता केन्द्र मा कार्यरत लेखा अधिकृत ५५ वर्षीय विश्वराज पन्थी रहेका छन् ।
प्रहरीका अनुसार बडिमालिका दर्शनका लागि जाने क्रममा खारेको जंगल क्षेत्रमा उनी एक्कासी बेहोस भएका थिए । सँगै रहेका तीर्थयात्रीले उनलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले पन्थीसहित राष्ट्रिय सतर्कता केन्द्रका उपसचिव शिवहरि न्यौपाने, शाखा अधिकृत जीवन घिमिरे र लेखापाल उमेश शर्मा बडिमालिका दर्शनका लागि गएको जनाएको छ ।
प्रवक्ता शाहीका अनुसार लेक लागेपछि पन्थी बेहोस भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।






