काठमाडौं । सरकारी अस्पताल र स्वास्थ्य निकायहरूमा ९ करोड १७ लाख रुपैयाँ बराबरकाे औषधि तथा स्वास्थ्य सामग्री म्याद नाघेर प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको पाइएको छ।
महालेखा परीक्षकको ६३ औं प्रतिवेदनअनुसार स्वास्थ्य सेवा विभाग, वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका निकायहरूमा औषधि व्यवस्थापन र भण्डारणमा गम्भीर लापरबाही देखिएको हो।
प्रतिवेदन अनुसार स्वास्थ्य सेवा विभागमै ४ करोड ७२ लाख २० हजार रुपैयाँका औषधि प्रयोग गर्न नमिल्ने भएका छन्। वीर अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र अन्य अस्पतालहरूमा पनि ठूलो परिमाणमा औषधि खेर गएको उल्लेख छ।
त्यस्तै, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा ४७ लाख ७० हजार र वीर अस्पतालमा ६०१ प्रकारका १ करोड ४३ लाख ७५ हजार रुपैयाँका औषधि प्रयोग गर्न नमिल्ने भएका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १ करोड १९ हजार ९६ हजार, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १ करोड २३ हजार म्याद सकिएका सामग्री थुप्रिएको महालेखाले जनाएको छ ।
सम्झौताअनुसार म्याद समाप्त भएका वा बिक्री नभएका औषधिहरू आपूर्तिकर्ताबाट प्रतिस्थापन गर्नुपर्ने भए पनि त्यसो नगरिँदा राज्यको ठूलो लगानी खेर गएको महालेखाले औंल्याएको छ ।






