बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताललाई विभिन्न संघसंस्था तथा व्यवसायीले करिब ४० लाख रुपैयाँ बराबरका आधुनिक स्वास्थ्य उपकरण सहयोग गरेका छन् ।
लायन्स क्लब अफ चितवन चौतारी र लोयल ट्रेडर्सले बुधबार अस्पताललाई अस्पतालको प्रयोगशालामा आवश्यक पर्ने आधुनिक मेसिनहरू उपलब्ध गराएका हुन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल गिरीले लायन्स क्लब अफ चितवन चौतारीले करिब २० लाख मूल्यका दुईवटा मेसिन सहयोग गरेको बताए । जसमा क्लिया मेसिन र पिटी/आइएनआर मेसिन रहेका छन् ।
क्लिया मेसिनमार्फत थाइराइड, भिटामिन डी, भिटामिन बी–१२, पाठेघरको क्यान्सर (सिए १२५), प्रोस्टेटको क्यान्सर (पिएसए) लगायत विभिन्न प्रकारका हर्मोनजन्य समस्या परीक्षण गर्न सकिने डा. गिरीले जानकारी दिए ।
पिटी/आइएनआर मेसिनले रगत जम्नेसम्बन्धी र मुटुरोगी तथा सर्प वा अरिङ्गालले टोकेका बिरामीको परीक्षणमा समेत क्लिया मेसिन उपयोगी हुने बताइएको छ ।
यस्तै लोयल ट्रेडर्सले २० लाख मूल्यका अन्य उपकरण उपलब्ध गराएको अस्पतालले जनाएको छ । जसअन्तर्गत पूर्ण रूपमा स्वचालित जैविक रसायन (बायोकेमेस्ट्री) परीक्षण मेसिन र ‘हेमाटोलोजी एनालाइजर’ मेसिन रहेको अस्पतालले जनाएको छ ।
बायोकेमेस्ट्री मेसिनमार्फत कलेजो, मिर्गौला, युरिक एसिड, एमाइलेज, लाइपेजलगायतका परीक्षण गरिन्छ ।
यस्तै ‘सिबिसी एनालाइजर’ले शरीरमा रगतको मात्रा तथा रगतभित्र रहेका विभिन्न ‘सेल’हरूको विस्तृत परीक्षण गरी रोगको पहिचान गरिने सुपरिटेन्डेन्ट डा. गिरीले जानकारी दिए । –रासस






