१० महिनामा ५८ प्रतिशत बजेट खर्च, पुँजीगत खर्च कमजोर

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना सकिन लाग्दा सरकारले कुल ११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार १९ खर्ब ६४ अर्ब रुपैयाँको कुल बजेटमध्ये हालसम्म ५८.७५ प्रतिशत खर्च भएको हो।

सरकारले चालुतर्फ विनियोजित ११ खर्ब ८० अर्बमध्ये ८ खर्ब ९ अर्ब रुपैयाँ खर्च गरेको छ, जुन ६८.०४ प्रतिशत हो। दैनिक प्रशासनिक तथा नियमित कार्य सञ्चालनका लागि हुने चालु खर्च सबैभन्दा बढी भएको कार्यालयले जनाएको छ।

यता पुँजीगततर्फ भने खर्च कमजोर देखिएको छ। ४ खर्ब ७ अर्ब बजेट छुट्टाइएकोमा हालसम्म १ खर्ब ९ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ, जुन २६.८७ प्रतिशत हो।

सडक, पुल, भवन तथा अन्य पूर्वाधार निर्माणमा हुने खर्च अपेक्षाअनुसार हुन नसकेको बताइएको छ। मध्यपूर्व तनावका कारण बिटुमिन इन्धन अभावले निर्माण क्षेत्रमा असर परेको उल्लेख गरिएको छ।

यस्तै, वित्तीय व्यवस्थातर्फ सरकारले ३ खर्ब ७५ अर्ब रुपैयाँ बजेट छुट्टाएकोमा २ खर्ब ४० अर्ब खर्च भइसकेको छ । यो खर्च उक्त शीर्षकमा विनियोजित बजेटको ६४.१६ प्रतिशत हो ।

महालेखा नियन्त्रक कार्यालयकाअनुसार सार्वजनिक ऋण व्यवस्थापनका लागि सरकारले यस वर्षका लागि छुट्टाएको बजेट पनि ठूलो मात्रमा भएको छ । यो शीर्षकमा छुट्टाइएको बजेट सरकारले पहिले लिएका ऋणको सावाँ र ब्याज तिर्ने गरेको छ ।

सरकारको आम्दानी समेत उत्साहजनक देखिँदैन । सरकारले १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य राखेकामा ९ खर्ब ७० अर्ब सङ्कलन गरेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *