काठमाडौं। प्रधानन्यायाधीशको नाम सिफारिसबारे धारणा बनाउन नेपाल बार एसोसिएसनको आज बैठक बस्दै छ । संवैधानिक परिषद्ले गरेको प्रधानन्यायाधीशको नाम सिफारिसमा असन्तुष्ट बारले यसबारे धारणा बनाउन आज बस्नेगरी आकस्मिक बैठक बोलाएको हो ।
बैठकमा बारका सल्लाहकार, संविधानविद्, कानुनविद् र पूर्वपदाधिकारीलाई बेलाइएको छ । बिहीबार बसेको संवैधानिक परिषदको बैठकले चौथो वरीयतामा रहेका सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
सर्वोच्च अदालतमा वरिष्ठता मिचेको भन्दै राजनीतिक दलदेखि न्यायीक क्षेत्र तरंगित बनेको छ भने प्रधानन्यायाधीश सिफारिस प्रकरण चर्किने सम्भावना समेत बढेको छ ।
बारका अधिकांश पदाधिकारी तथा पूर्वपदाधिकारी पनि प्रधानन्यायाधीशमा वरिष्ठता मिचेकोमा असन्तुष्ट देखिएका छन् । यसमा राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले असहमति जनाएका छन् ।






