काठमाडौं। सरकारी कर्मचारी रामप्रसाद मेहतामाथि कार्यालयमा दादागिरी देखाउने, कर्मचारी तथा कार्यालय प्रमुखलाई धम्क्याउने र काज स्वीकृतिविनै बारम्बार काठमाडौं आउने–जाने गरेको आरोप लागेको छ।
मेहता हाल नेपाल पारा भेटेरिनरी एन्ड लाइभस्टक एसोसिएसन (नेलवा) का अध्यक्ष समेत हुन्। उनी यसअघि मधेसी निजामती कर्मचारी मञ्चसँग पनि आबद्ध रहेको बताइन्छ। कार्यालयका कर्मचारीका अनुसार उनले राजनीतिक पहुँचको आडमा कर्मचारीमाथि दबाब सिर्जना गर्ने र कार्यालय प्रमुखसम्मलाई थर्काउने गरेको आरोप छ।
कार्यालय स्रोतका अनुसार मेहता पछिल्लो समय असिम शाहसँगको निकटता देखाउँदै कर्मचारीमाथि प्रभाव जमाउने प्रयास गर्दै आएका छन्। उनले प्रधानमन्त्रीका सल्लाहकारसँगको सम्बन्धको नाम लिँदै कार्यालयको वातावरण प्रभावित बनाउने गरेको कर्मचारीहरूको दाबी छ।
स्रोतका अनुसार मेहता पछिल्लो एक महिनाभित्र कम्तीमा दुई पटक काठमाडौं आएका छन्। तर ती भ्रमणका लागि न त काज स्वीकृत गरिएको छ, न त भ्रमण आदेश नै लिइएको छ। उनी फिल्ड भ्रमणमा गएको भन्दै निवेदन दिएर काठमाडौंमा विभिन्न बैठक तथा भेटघाटमा सहभागी हुने गरेको आरोप छ।
पछिल्लोपटक पनि फिल्ड भिजिटमा गएको जानकारी गराएर काठमाडौंस्थित नेलवाको बैठकमा सहभागी भएको पाइएको स्रोतले जनाएको छ। उनी प्रायः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि विभिन्न मन्त्रालय र संगठनका बैठकमा समेत धाउने गरेको आरोप छ।
यस विषयमा कार्यालयका एक कर्मचारीले मेहता फिल्ड भ्रमणमा जाने जानकारी गराएर गएको तर काठमाडौं आएको जानकारी कार्यालयलाई नभएको बताए।
“उहाँ फिल्ड भिजिटमा जान्छु भनेर जानुभएको हो, काठमाडौं जानुभएको भनेर जानकारी गराइएको छैन,” ती कर्मचारीले भने, “उहाँको भ्रमण आदेश पनि स्वीकृत भएको छैन। उहाँ करिब १० वर्षदेखि यही कार्यालयमा कार्यरत हुनुहुन्छ।”
बिना अनुमति वा भ्रमण आदेशबिना कर्मचारी काठमाडौं आएको पाइए कारबाही हुन सक्ने कार्यालय स्रोतले जनाएको छ।
उनीमाथिको आरोपबारे प्रतिक्रिया लिन खोज्दा मेहता सम्पर्कमा आउन चाहेनन्। उनका मोबाइलमा पटक–पटक सम्पर्क गर्दा पनि प्रतिक्रिया प्राप्त हुन सकेन।






