काठमाडौं। अन्जन श्रेष्ठ ले बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका रूपमा पदबहाली गरेका छन्।
पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकको अर्थतन्त्र चलायमान बनाउन जनताको क्रयशक्ति वृद्धि आवश्यक रहेको बताए। बजारमा माग कमजोर रहेको र सर्वसाधारणको क्रयशक्ति घटेकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो।
उनले बैंकिङ प्रणालीमा पर्याप्त तरलता भए पनि साना तथा मझौला व्यवसायीले लगानीका लागि आवश्यक पूँजी पाउन नसकेको उल्लेख गरे। निजी क्षेत्रलाई सहज रूपमा लगानीको वातावरण बनाउन सरकारले पहल गर्नुपर्ने उनले बताए।
अध्यक्ष श्रेष्ठले सरकारले अध्यादेशमार्फत विभिन्न ऐन संशोधन गरी लगानीमैत्री वातावरण बनाउने प्रयास गरेको भन्दै त्यसको स्वागत गरे। तर लगानीको सुरक्षाप्रति भने निजी क्षेत्र अझै आश्वस्त हुन नसकेको उनले बताए।
जेनजी आन्दोलन का क्रममा निजी क्षेत्रको अर्बौं रुपैयाँ बराबरको सम्पत्ति क्षति भएको प्रसंग उल्लेख गर्दै उनले सरकारलाई लगानी सुरक्षाको प्रत्याभूति दिन आग्रह गरे। ‘सरकारले निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्नुपर्छ, निजी क्षेत्रको मनोबल उकास्नुपर्छ,’ उनले भने।






