काठमाडौं । एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकबाट पूर्व–स्वीकृति प्राप्त गरेको छ। बैंकले हाल कायम २ कित्ता सेयर बराबर १ कित्ता नयाँ सेयर (२:१ अनुपात) मा हकप्रद जारी गर्ने अनुमति पाएको हो।
राष्ट्र बैंकले वैशाख १७ गतेको पत्रमार्फत बैंकलाई हालको चुक्ता पुँजीको ५० प्रतिशत बराबर हकप्रद निष्काशन गर्न पूर्व स्वीकृति दिएको जनाएको छ। समस्याग्रस्त अवस्थाबाट फुकुवा भएका केही वित्तीय संस्थाबाहेक, पछिल्लो करिब सात वर्षयता राष्ट्र बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थालाई हकप्रद निष्काशन अनुमति दिएको थिएन।
एनआईसी एशिया बैंकले यसअघि आर्थिक वर्ष २०७८/७९ मै हकप्रद सेयर जारी गर्न स्वीकृति माग गरेको भए पनि त्यसबेला अनुमति पाएको थिएन। पछिल्लो समय बढ्दो निष्क्रिय कर्जा (एनपीएल) र सञ्चित नोक्सानीका कारण बैंकको प्राथमिक पुँजीकोष नियामकले तोकेको न्यूनतम सीमाभन्दा तल झरेपछि हकप्रदमार्फत पुँजी सुदृढ गर्ने कदम अघि बढाइएको हो।
हकप्रद निष्काशनसम्बन्धी विशेष प्रस्ताव बैंकको आगामी २८औँ वार्षिक साधारण सभामा पेश गरिनेछ। उक्त प्रस्ताव साधारण सभाबाट पारित भएपछि र नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति प्राप्त भएपछि मात्र निष्काशन प्रक्रिया अगाडि बढ्नेछ।






