इलाका प्रहरी कार्यालय सुगरखाल कैलाली दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक नरेन्द्रप्रसाद भट्ट निलम्बनमा परेका छन् ।
प्रहरी वरिष्ठ नायव निरीक्षक भट्टले स्थानीय तह निर्वाचन २०७९ मा थप मद्दतको रुपमा सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय धनबोट मतदान स्थलमा कमाण्डरको रूपमा खटिएको अवस्थामा नेपाल प्रहरी संगठनको छविमा आँच आउने एवम् अन्य प्रहरी कर्मचारीहरुलाई असर पुर्याउने किसिमको कार्य गरेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक छानबिन गर्दा आफूलाई सुम्पिएको जिम्मेवारी र दायित्व पूरा नगरी प्रहरी नियमावली, २०७१ विपरीत आचरण व्यवहार तथा गैर व्यवसायिक कार्य गरेको पुष्टि हुन आएकोले प्रहरी नियमावली, २०७१ को नियम ११५ को उपनियम ४ बमोजिम निज उपर थप जाँचबुझ एवं छानबिन गर्न सोही नियमको उपनियम (५) बमोजिम वैशाख २९ गतेको प्रहरी उपरीक्षकको निर्णय अनुसार ३ महिनाको लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेत, कर्मचारी प्रशासन शाखाले जनाएको छ ।
भट्टले मदिरा सेवन गरेर मतदान अधिकृत म्यादी प्रहरी र गाउँलेमाथि कुटपिट गरेका थिए ।
मदिरा सेवन गरेका वरिष्ठ सई भट्ट बुधबार राति ११ बजेतिर धनबोट गाउँ पसेका थिए । स्थानीयको घरभित्र पसेर हतियार देखाउँदै उनले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए । म्यादी प्रहरी र प्रहरी मिलेर उनलाई उद्धार गरेर मतदान अधिकृतलगायतको टोली बसेको घरमा राखिएको थियो । उनले बोकेको पेस्तोल अन्य प्रहरीले खोसेका थिए । भट्टको कुटाइबाट मतदान अधिकृतसहित केही म्यादी र स्थानीय सामान्य घाइते भएका छन् ।
मतदान अधिकृत निरज झाका अनुसार बुधबार राति ११ देखि बिहान ६ बजेसम्म भट्टले आफूसहित सहायक मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका थिए । ‘मदिरा सेवन गरेर सुरुमा मतदानस्थल नजिकैको गाउँमा गएर गाउँलेलाई कुटपिट गरेछन्,’ झाले भने, ‘त्यहाँबाट प्रहरीले उद्धार गरेर हामी सुतिरहेको घरमा ल्याएपछि हामीमाथि नै कुटपिट भयो ।’
मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गर्ने वरिष्ठ सई भट्टलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरु गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले बताए ।







