बागमती र सहायक नदी किनारका बस्तीमा आजदेखि डोजर

काठमाडौं ।सहरी विकास मन्त्रालय ले बागमती नदी र सहायक नदी किनारका अतिक्रमित बस्ती हटाउने दोस्रो चरणको अभियान शुक्रबारदेखि सुरु गर्ने भएको छ ।

मन्त्री सुनील लम्साल का अनुसार पहिलो चरणमा थापाथली, सिनामंगल–गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती स्थानान्तरण गरिसकिएकाले अब दोस्रो चरण कार्यान्वयनमा ल्याउन लागिएको हो ।

बिहीबार मन्त्रालयमा बसेको विभिन्न सरकारी निकायको संयुक्त बैठकले आवश्यक तयारी पूरा भएको निष्कर्ष निकालेको थियो ।

मन्त्रालयका अनुसार जोखिमयुक्त बस्तीका बासिन्दालाई बसमार्फत प्राथमिक दर्ता केन्द्रका रूपमा दशरथ रंगशाला लगिनेछ ।

रंगशालामा तीन सहायता कक्ष सञ्चालन गरिने छन् । पहिलो कक्षमा सूचना तथा तथ्यांक संकलन, दोस्रोमा सुकुम्बासी पहिचानका लागि स्वघोषणा फाराम भर्ने तथा सामाजिक विवरण संकलन र तेस्रो कक्षमा गृह मन्त्रालय को टोलीले डिजिटल तथ्यांक संकलन गर्नेछ ।

मन्त्रालयले घरबाट तत्काल लैजान नसकिने सामग्रीको भण्डारण र सुरक्षाका लागि सुरक्षा निकाय परिचालन गर्ने जनाएको छ ।

आश्रय व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्‍याउन बसको व्यवस्था मिलाइनेछ ।

प्राथमिक दर्ता केन्द्र र होल्डिङ सेन्टरमा स्वास्थ्य सेवा, मानवीय सहायता तथा मनोसामाजिक परामर्श उपलब्ध गराइने जनाइएको छ ।

संकलित विवरणका आधारमा सुकुम्बासीको पहिचान र प्रमाणीकरण गरिनेछ भने पहिचान हुन नसकेकालाई होल्डिङ सेन्टरबाट फर्काइनेछ ।

पहिचान भएका परिवारलाई निश्चित अवधिसम्म आवश्यक सहयोग उपलब्ध गराउँदै पुनःस्थापनाको प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।

नदी किनार अतिक्रमण गरी भाडा वा व्यापार सञ्चालन गर्ने तथा गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिमाथि छानबिन गरी कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले सूचना जारी गर्दै नदी किनारका बस्ती तथा सार्वजनिक, पर्ति वा निजी जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा शुक्रबार साँझसम्म खाली गर्न आग्रह गरेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल का अनुसार उच्च जोखिममा रहेका ती बस्ती वैशाख १८ गते बिहान ७ बजेदेखि खाली गराउने कार्य सुरु गरिनेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *