एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन चेम्बरकाे सुझाव

काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सले समग्र उद्योग–व्यवसाय क्षेत्र सुधारका लागि सुझाव प्रस्तुत गरेको छ । चेम्बरले बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई भेट गरी विभिन्न सुझाव दिएको हो ।

चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलले अहिलेको चुनौतीपूर्ण अवस्थामा निजी क्षेत्रसँग सहकार्य गर्दै नीतिगत स्पष्टता, लगानीमैत्री वातावरण र व्यवसायीको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको हो ।

भेटका क्रममा चेम्बरले विशेषगरी भन्सार विन्दुमा आयात हुने वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गर्ने व्यवस्था व्यवहारतः जटिल र प्रक्रियागत कठिनाई रहेको बताउँदै यसको कार्यान्वयनमा पुनर्विचार गर्न सरकारलाई सुझावसमेत दिएको छ ।

सानो परिमाणमा हुने आयातका कारण विदेशी निर्यातकर्ताले एमआरपी वा लेबल व्यवस्थापन गर्न नचाहने, अन्तर्राष्ट्रिय बजारमा वस्तुको मूल्य निरन्तर परिवर्तन भइरहने, दैनिक रूपमा विनिमय दरमा उतारचढाव आउने तथा हार्मोनाइज्ड कोडको सुनिश्चितता नभएको पनि चेम्बरले स्मरण गराएको छ ।

मन्त्री यादवले चेम्बरले मुख्य रुपमा उठाएको एमआरपीको समस्यालगायतका सुझावउपर छलफल गरी निजी क्षेत्रको लागि सकारात्मक वातावरण तयार पार्ने बताइन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *