एजेन्सी । अमेरिका र इजरायलले इरानमा आक्रमण सुरु गरेपछि जारी तनावका कारण कच्चा तेलको मूल्य ४ वर्षयताकै उच्च भएको छ । ताजा आकडा अनुसार कच्चा तेलको मूल्य ११९.७६ डलर प्रतिब्यारेल पुगेको छ । यो सन् २०२२ को जुन महिनायताकै सबैभन्दा उच्च मूल्य हो ।
रुस–युक्रेन युद्धका कारण सन् २०२२ को फेब्रुअरी–मार्च तिर कच्चा तेलको मूल्य बढेर करिब १३० डलर प्रतिब्यारेलसम्म पुगेको थियो ।
द गार्जियनका अनुसार कच्चा तेलको मूल्य अहिले उच्च हुनुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्ति पनि एक कारण हो । ट्रम्पले इरानका बन्दरगाहहरुमा सैन्य नाकाबन्दी जारी राख्ने अभिव्यक्ति दिएका थिए ।
इरानले अमेरिकामाथि आफ्ना जहाज जफत गरेको र ३८ लाख ब्यारेल तेल कब्जा गरेको भन्दै संयुक्त राष्ट्रसंघमा उजुरी दर्ता गरेको छ।
अर्कोतर्फ, अमेरिकाले विगत दुई महिनामा इरानसँगको युद्ध र सैन्य परिचालनमा मात्रै २५ अर्ब डलर खर्च गरिसकेको छ। अमेरिकी रक्षा मन्त्रालयका अधिकारी जुल्स डब्लु. हर्स्टका अनुसार यो रकमको ठूलो हिस्सा हतियार, मिसाइल र गोलाबारुदमा खर्च भएको छ।
यसैबीच, ट्रम्पले राइफल बोकेको तस्बिर सेयर गर्दै इरानलाई चेतावनी दिएका छन्। उनले लेखेका छन्–नो मोर मिस्टर नाइस गाई अर्थात् अब म उदार हुने छैन ।






