चैतसम्म ६ वटा वाणिज्य बैंकले बनाए डबल डिजिटको लाभांश क्षमता, एभरेष्ट बैंक शीर्षमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १९ वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्म ४९ अर्ब २१ करोड २२ लाख रुपैयाँ नाफा कमाएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.३० प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकहरूले ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ नाफा कमाएका थिए।

हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचीकृत छैन।

नेप्सेमा सूचीकृत १९ वटा वाणिज्य बैंकमध्ये केबल ६ वटाले मात्रै डबल डिजिटको लाभांश क्षमता बनाएका छन्। तीमध्ये सबैभन्दा धेरै एभरेष्ट बैंकको लाभांश क्षमता सबैभन्दा बढी देखिन्छ। तेस्रो त्रैमाससम्म एभरेष्टले ३१ प्रतिशत माथि लाभांश क्षमता बनाएको छ।

एभरेष्टसँगै नबिल, सानिमा, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल एसबीआई र ग्लोबल आइएमई बैंकले दोहोरो अंकको लाभांश बाँड्न सक्ने क्षमता बनाएका छन्।

यसैगरी १० प्रतिशतभन्दा कम लाभांश क्षमता बनाउनेमा ७ वटा बैंक रहेका छन्। चैतसम्म एकल अंकको लाभांश वितरण गर्न सक्ने क्षमता बनाउनेमा माछापुच्छ्रे, कृषि विकास बैंक, सिद्धार्थ बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंक छन्।

तेस्रो त्रैमाससम्मको नतिजा हेर्दा नेप्सेमा सूचीकृत बाँकी ६ वटा वाणिज्य बैंकले भने हालसम्म लाभांश बाँड्न सक्ने देखिएको छैन।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *