काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दमक–२, झापा स्थित श्री हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्य विरुद्ध करिब ९३ लाख रुपैयाँ भ्रष्टाचार आरोपमा विशेष अदालत मा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार विद्यालय भवन निर्माणका क्रममा झुट्टा बिल भर्पाई बनाएर सरकारी रकम हिनामिना गरेको देखिएपछि मंगलबार मुद्दा दायर गरिएको हो। भवन निर्माणको प्राविधिक मूल्यांकनभन्दा ५९ लाख २६ हजार ६ सय ८६ रुपैयाँ बढी भुक्तानी लिएको आरोप छ।
भवन निर्माण बाहेक प्रधानाध्यापक र लेखापालको आपसी मिलेमतोमा आर्थिक वर्ष २०७७/७८ देखिकै नगद मौज्दात हिनामिना गरेको समेत अनुसन्धानबाट खुलेको छ। उनीहरूले १६ लाख ६० हजार १ सय १ रुपैयाँ बेरुजु राखेको र १७ लाख ९६ हजार ५ सय २१ रुपैयाँ विद्यालयको नगद रकम व्यक्तिगत प्रयोगमा ल्याएको अख्तियारले जनाएको छ।
अख्तियारले दुवै प्रतिवादीबाट कुल ९३ लाख ८३ हजार ३ सय ९ रुपैयाँ ७२ पैसा बिगो दाबी गरेको छ।






