काठमाडौं। नेपाल धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ।
आज सरकारबाट गठित सिफारिस समितिले सूचना प्रकाशित गरी बोर्ड अध्यक्षका लागि दरखास्त मागेको हो।
समितिले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अर्थात् वैशाख २१ सम्म अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखास्थित समितिको सचिवालयमा व्यक्तिगत विवरण पेस गर्न आग्रह गरेको छ।
गत वैशाख ४ मा सन्तोष नारायणश्रेष्ठले राजीनामा दिएपछि बोर्डमा अध्यक्षको पद खाली छ।
तत्कालीन सरकारले श्रेष्ठलाई २०८१ मंसिर १० गते धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।
बोर्डमा नयाँ अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ।
समितिका सदस्यमा अर्थसचिव घनश्याम उपाध्याय र पूर्वबैंकर भुवनकुमार दाहाल छन्।
समितिले प्राप्त दरखास्तका आधारमा उम्मेदवार छनोट गरी धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न सरकारसमक्ष सिफारिस गर्नेछ।






