रसुवागढी भन्सार कार्यालय : ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन

काठमाडौं ।रसुवागढी नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा ३१ अर्ब ३० करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन् ।

रसुवा भन्सार कार्यालय का प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराई का अनुसार सो अवधिमा ६ अर्ब ४२ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार मानिने यस नाकाबाट कठिन भौगोलिक अवस्था र पटक–पटक आउने प्राकृतिक अवरोधबीच पनि व्यापार सञ्चालन भइरहेको उनले बताए ।

नाकाबाट आयात हुने वस्तुमा रोल कपडा, तयारी पोसाक, विद्युतीय सवारी, जलविद्युत् तथा पूर्वाधार आयोजनाका निर्माण सामग्री, स्याउ, लसुन, औद्योगिक कच्चा पदार्थ र मेसिनरी उपकरण प्रमुख छन् ।

नेपाली सेनाले निर्माण गरिरहेको द्रुतमार्ग आयोजनाका सामग्रीसमेत यही नाकाबाट भित्रिने गरेका छन् ।

नेपालबाट चीनतर्फ भने हस्तकला सामग्री, परम्परागत नेपाली कपडा, बाँसका मुढा, तिब्बत क्षेत्रमा प्रयोग हुने सुक्खा घाँस, चाउचाउ र बिस्कुट गरी करिब ६५ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन्।

सीमित उत्पादन क्षमताका बाबजुद निर्यात क्रम विस्तार हुँदै गएको भन्सार कार्यालयले जनाएको छ ।

गत असार २४ गते ल्हेन्देखोला मा आएको बाढीले मितेरी पुल बगाउँदा केही समय व्यापार पूर्ण रूपमा अवरुद्ध भएको थियो । पुल पुनःनिर्माणमा ढिलाइ हुँदा गत पुस १७ गतेदेखि मात्रै आयात–निर्यात पुनः नियमित भएको हो ।

ऐतिहासिक रूपमा भृकुटी र श्रङ्चङ गम्पो बीचको वैवाहिक सम्बन्धपछि नेपाल–तिब्बत व्यापार विस्तार भएको मानिन्छ ।

सोही मार्ग आधुनिक स्वरूपमा विकास भई रसुवागढी अहिले नेपालको प्रमुख उत्तरी व्यापारिक नाका बनेको छ ।

चीन सरकारले २०७२ मङ्सिर १५ देखि यस नाकालाई पूर्ण मान्यता दिएपछि व्यापारिक गतिविधि थप बढेको हो ।

छोटो दूरी र सहज पहुँचका कारण व्यवसायीहरू यस नाकातर्फ आकर्षित भइरहेका छन् । गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष कामीछिरिङ तामाङ ले पूर्वाधार सुधार आवश्यक रहेको बताए ।

यद्यपि, साँघुरो सडक, बाढी–पहिरो र स्तरोन्नति कार्यका कारण नाका क्षेत्र बारम्बार प्रभावित हुँदै आएको छ । व्यवसायीहरूले सडक पूर्ण रूपमा बन्द नगरी तालिका मिलाएर मर्मत र व्यापार दुवै सञ्चालन गर्न माग गरेका छन् ।

बाढीपछि भन्सार यार्ड बालुवा खोलाको किनारमा सारिएको छ, जहाँ चिसो हावा र धुलोबीच कर्मचारीले काम गर्नुपर्ने अवस्था छ ।

पर्याप्त संरचना र सुरक्षित कार्यस्थलको अभावमा कर्मचारीहरू कठिन परिस्थितिमा सेवा दिन बाध्य रहेको गुनासो गरिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *