एभरेष्ट बैंकको खुद नाफा ३ अर्ब ३२ करोड, प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ३५ पैसा

काठमाडौं। एभरेष्ट बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरणअनुसार यस अवधिमा बैंकको खुद नाफामा गत वर्षको तुलनामा सामान्य गिरावट आए पनि अन्य व्यावसायिक सूचकमा सुधार देखिएको छ।

बैंकले यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको नाफा (३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ) को तुलनामा ३.७१ प्रतिशतको गिरावट हो।

बैंकको खुद ब्याज आम्दानी भने गत वर्षको तुलनामा सामान्य बढेर ६ अर्ब ८३ करोड ३४ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो आम्दानी ६ अर्ब ७४ करोड ३९ लाख थियो।

विवरणअनुसार बैंकको कुल सञ्चालन आम्दानी ८ अर्ब ९३ करोड १० लाख रहेको छ, जुन गत वर्षको तुलनामा ९.२२ प्रतिशतको वृद्धि हो।

बैंकको सञ्चालन मुनाफा भने गत वर्षको ५ अर्ब ८ करोड ३३ लाखबाट ३.५३ प्रतिशतले घटेर ४ अर्ब ९० करोड ३६ लाख भएको छ।

चैत मसान्तसम्म बैंकले कुल ३ खर्ब २ अर्ब ४३ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ५० अर्ब ८७ करोड ९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ छ भने जगेडा कोषमा १५ अर्ब ५० करोड ८८ लाख सञ्चित छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३२ रुपैयाँ ३५ पैसा र प्रतिसेयर नेटवर्थ २४४ रुपैयाँ २७ पैसा रहेको छ।

बैंकको निष्कृय कर्जा (खराब कर्जा) गत वर्षको ०.६४ प्रतिशतबाट घटेर ०.६१ प्रतिशतमा झरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *