पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौं । पश्चिमी वायु र स्थानीय प्रणालीको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली तथा वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि मध्यम बदली रहेको छ भने सुदूरपश्चिमका तराई क्षेत्रमा मौसम मुख्यतया सफा छ।

महाशाखाका अनुसार कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बागमतीका एक–दुई स्थानमा मध्यम वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ।

आज दिउँसो पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारण बदली रहने तथा अन्य क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ।

कोशी, बागमती र गण्डकीका केही स्थानमा तथा मधेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। लुम्बिनीको तराईका केही स्थानमा समेत वर्षाको सम्भावना छ।

आज राति पनि हिमाली तथा पहाडी क्षेत्रमा बदली रहने र तराईमा आंशिक बदली रहने अनुमान गरिएको छ।

कोशी, मधेश, बागमती र गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।

महाशाखाले अधिकांश स्थानमा तापक्रम क्रमशः बढ्ने प्रक्षेपण गर्दै विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई, उपत्यका तथा खोँच क्षेत्रमा तापक्रम बढ्ने जनाएको छ।

ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *