जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले स्थानीय तहको मतदानको दिन पानी पर्ने पूर्वानुमान गरेपछि निर्वाचन आयोगले मतदान केन्द्रमा त्रिपालको व्यवस्था गर्न निर्देशन दिएको छ ।
महाशाखाका अनुसार ३० वैशाखका दिन दुई प्रदेशमा मेघगर्जनसहित वर्षा हुन सक्छ भने अन्य प्रदेशमा सामान्य बदली हुन सक्ने आकलन छ ।
महाशाखाले आज साँझ ६ बजे सार्वजनिक गरेको विशेष सूचनामा उल्लेख भएअनुसार अहिले नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ । हाल पश्चिम–मध्य बंगालको खाडीमा चक्रवात ‘असानी’ चलिरहेको छ ।
भोलि दिउँसो प्रदेश १ र मधेस प्रदेशमा सामान्य बदली तथा देशका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
प्रदेश एक, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
मतदान हुने दिन पर्सि दिउँसो प्रदेश १, मधेस र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन तथा चट्याङ्सहित हल्का वर्षाको सम्भावना छ ।
मतदानका दिन पानी पर्न सक्ने भएपछि निर्वाचन सामग्रीसमेतको सुरक्षा गर्न आवश्यक पर्ने पाल त्रिपाल वा प्लास्टिकको व्यवस्था गर्नका लागि सबै स्थानीय तहलाई निर्देशन दिइसकेको आयोगले जनाएको छ ।






