फोनपे आईपीओ तयारीमा, ‘ए माइनस’ रेटिङसहित कारोबार १ अर्ब नाघ्ने अनुमान

काठमाडौं । फोनपे पेमेन्ट सर्भिस ले ‘बुक बिल्डिङ’ विधिमार्फत आईपीओ निष्काशनको तयारी गरेको छ। कम्पनीले क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपाल बाट ‘ए माइनस’ रेटिङ प्राप्त गरेको हो।

इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था र व्यवसायिक क्षमताको मूल्याङ्कन गर्दै दायित्व समयमै पूरा गर्न सक्ने क्षमता बलियो रहेको संकेत दिएको छ। फोनपेले व्यावसायिक विस्तारका लागि सर्वसाधारणमा सेयर जारी गर्ने तयारीस्वरूप रेटिङ गराएको जनाएको छ।

डिजिटल भुक्तानी क्षेत्रमा अग्रणी रहेको कम्पनीको आम्दानी पछिल्ला वर्षहरूमा तीव्र गतिमा बढेको छ। आर्थिक वर्ष २०२४ मा ७२ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले २०२५ मा ९७ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामै ६१ करोड रुपैयाँ आम्दानी गरिसकेको कम्पनीको वार्षिक कारोबार १ अर्ब रुपैयाँ नाघ्ने अनुमान गरिएको छ।

बजार उपस्थितिका हिसाबले क्यूआर कोड भुक्तानीमा करिब ९७ प्रतिशत र अन्तर–बैंक रकम स्थानान्तरणमा ८६ प्रतिशत हिस्सा ओगटेको कम्पनीसँग ६० भन्दा बढी बैंक तथा वित्तीय संस्था र करिब १७ लाख व्यवसायी आबद्ध छन्।

एफवान सफ्ट ग्रुप को बहुमत स्वामित्व रहेको फोनपे ऋणमुक्त कम्पनीका रूपमा रहेको छ। कम्पनीले विस्तार र लगानी आफ्नै आन्तरिक स्रोतबाट गर्दै आएको छ।

यद्यपि, आम्दानीको ठूलो हिस्सा अन्तर–बैंक कारोबार शुल्कमा निर्भर रहनु कम्पनीका लागि चुनौती देखिएको छ। नियामक नेपाल राष्ट्र बैंक ले शुल्क घटाएमा नाफामा असर पर्न सक्ने विश्लेषण गरिएको छ। साथै, नेपाल क्लियरिङ हाउस जस्ता संस्थासँगको प्रतिस्पर्धा पनि बढ्दो छ।

कम्पनीले आम्दानीका स्रोत विविधीकरणका लागि भर्चुअल कार्ड र अन्तरदेशीय भुक्तानी सेवा विस्तारमा काम गरिरहेको जनाएको छ। डिजिटल भुक्तानी क्षेत्रमा बढ्दो प्रतिस्पर्धा र साइबर सुरक्षाका चुनौतीबीच कम्पनीको भविष्य भने सकारात्मक देखिएको रेटिङ प्रतिवेदनले उल्लेख गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *