काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय निर्देशक डेभिड सिर्लेनबीच बुधबार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको उक्त भेटमा ‘नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट’ लाई तीव्र रूपमा कार्यान्वयन गर्ने विषयमा दुवै पक्ष सहमत भएका छन्। साथै, आपसी सहयोगको वर्तमान अवस्था र आगामी सहकार्यका सम्भावनाबारे पनि छलफल गरिएको जनाइएको छ।
भेटका क्रममा निर्देशक सिर्लेनले मन्त्री तिमिल्सिनालाई बधाई तथा शुभकामना व्यक्त गर्दै विश्व बैंकको सहयोगमा सञ्चालन हुन लागेको डिजिटल ट्रान्सफर्मेसन परियोजनामा सरकारको प्राथमिकताबारे चासो राखेका थिए। उनले उक्त परियोजनाले शासकीय सुधारका कार्यक्रमहरू कार्यान्वयनमा महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
सिर्लेनले सूचना प्रविधि पहुँच विस्तार, डेटा व्यवस्थापन, डिजिटल रूपान्तरण, मिडिया साक्षरता तथा शासकीय सुधारजस्ता क्षेत्रमा नेपाल सरकारलाई निरन्तर सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता पनि दोहोर्याए।
जवाफमा मन्त्री तिमिल्सिनाले विश्व बैंकप्रति आभार व्यक्त गर्दै परियोजनालाई छिटो कार्यान्वयनमा लैजाने बताए। उनले नयाँ सरकार गठनसँगै पूर्वाधार विकास र सेवा प्रवाहमा परिणाममुखी काम सुरु भइसकेको उल्लेख गर्दै विगतका समस्याहरू समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
उक्त भेटवार्तामा परराष्ट्र मन्त्रालयका प्रतिनिधिसहित सञ्चार मन्त्रालयका अन्य अधिकारीहरूको पनि सहभागिता रहेको थियो।







