तीन करोड लगानीमा प्रहरी चौकी भवन निर्माण

म्याग्दी । बेनी नगरपालिका–४ राक्सेमा सिङ्गा तातोपानी प्रहरी चौकीको भवन निर्माण सम्पन्न भएको छ। करिब ३ करोड ५० लाख रुपैयाँ लागतमा बनेको उक्त भवन चाँडै सञ्चालनमा ल्याइने तयारी गरिएको छ।

गण्डकी प्रदेश सरकारको सहयोगमा भूकम्प प्रतिरोधी दुईतले भवन निर्माण गरिएको हो। गण्डकी प्रदेश प्रहरी कार्यालय ले २०८१ असारमा निर्माण सम्झौता गरेको भवन तोकिएको समयमै सम्पन्न भएको जनाएको छ।

प्रहरी नायब उपरीक्षक चिरञ्जीवीप्रताप महतो का अनुसार भवन उद्घाटनपछि प्रयोगमा ल्याइनेछ। भवनमा प्रशासन कक्ष, महिला तथा पुरुष थुनुवा कक्ष, सञ्चार कक्ष, भान्सा, ब्यारेक र शयनकक्षको व्यवस्था गरिएको छ।

यसअघि उक्त प्रहरी चौकी भाडाको भवनबाट सञ्चालन हुँदै आएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रमुख सूर्यबहादुर थापा ले आफ्नै भवन भएपछि सेवा प्रवाह थप प्रभावकारी हुने बताए।

भवन निर्माणका लागि सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिले करिब १५ वर्षअघि दुई रोपनी जग्गा खरिद गरी प्रहरीलाई उपलब्ध गराएको थियो। सो जग्गा तातोपानी कुण्डमा आउने सेवाग्राहीबाट संकलित शुल्कबाट खरिद गरिएको हो।

जिल्लामा अझै धेरै प्रहरी चौकी आफ्नै भवनविहीन रहेको जनाउँदै प्रमुख थापाले जग्गा व्यवस्थापन नै भवन निर्माणको प्रमुख चुनौती भएको बताए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *