काठमाडौं । नेपाल राष्ट्र बैंक ले बैंकिङ सेवालाई ग्राहक–मैत्री बनाउँदै कागजी प्रक्रिया घटाउने र विदेशी मुद्रा कारोबारको अनुगमन कडाइ गर्ने नीति ल्याएको छ।
केन्द्रीय बैंकले एकीकृत परिपत्र–२०८२ संशोधन गर्दै बैंक तथा वित्तीय संस्थालाई ग्राहकका विवरण व्यवस्थापन र भुक्तानी प्रणालीमा थप जिम्मेवार बनाएको हो।
संशोधित व्यवस्थाअनुसार ग्राहकले एकपटक पेश गरेका कागजात पुनः–पुनः पेश गर्न नपर्ने व्यवस्था गरिएको छ।
अब इजाजत प्राप्त संस्थाले ग्राहकबाट प्राप्त कागजात सुरक्षित राखी सोही आधारमा आगामी सेवा प्रदान गर्नुपर्नेछ।
यसले विशेषगरी वैदेशिक व्यापार तथा सटही सुविधा लिने ग्राहकलाई बारम्बार कागजात बुझाउनुपर्ने झन्झट हटाउने अपेक्षा गरिएको छ।
त्यस्तै, विदेशी मुद्रा भुक्तानी तथा सटहीसम्बन्धी कारोबारमा पूर्ण पालना सुनिश्चित गर्ने जिम्मेवारी सम्बन्धित बैंकमै रहनेछ।
राष्ट्र बैंकले यसका लागि बैंकहरूलाई आफ्नै अनुगमन प्रणाली विकास गर्न निर्देशन दिएको छ।






