कञ्चनपुर। कञ्चनपुरको लालझाँडी गाउँपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ।
पालिकाले धानको उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले किसानलाई ५० प्रतिशत अनुदानमा बीउ दिन लागेको हो।
पालिकाका कृषि अधिकृत दशरथ साउदका अनुसार चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत उन्नत धानको बीउ वितरणका लागि कृषि समूह, सहकारीमार्फत किसानलाई उपलब्ध गराउने तयारी गरिएको छ।
“हामीले सूचना आह्वान गरेका छौँ। आएका निवेदनका आधारमा किसान छनोट गरेर बीउ उपलब्ध गराउँछौँ,” उनले भने, “उनन्त धानको बीउबाट उत्पाकत्वमा वृद्धि हुने अपेक्षा छ।”
उनले किसानले पचास प्रतिशत व्यहोर्ने गरी पालिकाले पाँच लाख बजेट विनियोजन गरेको जानकारी दिए।
केन्द्रका प्रमुख हरिप्रसाद पनेरुका अनुसार कृषि समूह, फार्म, सहकारीमार्फत किसानलाई उक्त अनुदान उपलब्ध गराउन लागिएको हो।
कार्यालयले आगामी वैशाख ३ गतेभित्र आवेदन दिन किसानलाई आह्वान हरेको छ। पछिल्लो समय व्यवसायिक रुपमा कृषिमा लागेका किसानका लागि प्रदेश सरकार र स्थानीय पालिकाबाट अनुदान उपलब्ध हुँदै आएको छ।






