काठमाडौं । कम्बोडियामा बिनाभिसा बसिरहेका ७ जना नेपाली नागरिकको उद्धार गरिएको छ। बैंककस्थित नेपाली दूतावासले कम्बोडिया सरकार र गैरआवासीय नेपाली संघसँग समन्वय गरी उनीहरूलाई आज नेपाल फर्काएको हो।
उद्धार गरिएका नेपालीहरूलाई अनलाइन स्क्यामिङ, क्यासिनो तथा अन्य गैरकानुनी काममा लगाइएको पाइएको दूतावासले जनाएको छ। त्यस्तै, अझै केही नेपाली अलपत्र परेको सूचना प्राप्त भएको र उनीहरूको उद्धार प्रयास जारी रहेको बताइएको छ।
दूतावासका अनुसार स्क्यामिङ केन्द्रमा काम गर्नेहरूको राहदानी जफत हुने वा हराउने समस्या देखिएको छ। नेपाल फर्किन चाहनेहरूलाई दूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र उपलब्ध गराउँदै आएको छ।
दूतावासले वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रूपमा श्रम स्वीकृति लिएर मात्र जान आग्रह गरेको छ।
Artha Sanjal






