काठमाडौं । स्नो रिभर्स लिमिटेड ले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन परेको छ।
कम्पनीले चैत ९ गतेदेखि उक्त आईपीओ बिक्री खुला गरेको थियो।
कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत बराबर १८ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ।
त्यसमध्ये ९ लाख ३७ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको हो।
कम्पनीका अनुसार ताप्लेजुङको सिरिजंगा गाउँपालिका–८ का बासिन्दालाई ४ लाख ६८ हजार ७५० कित्ता तथा सोही गाउँपालिकाका वडा १ देखि ७, सिदिङ्वा गाउँपालिका–५ र ६, पाथिभरा याङवरक गाउँपालिका–५ र ६ तथा पाँचथरको हिलिहाङ गाउँपालिका–१ का बासिन्दालाई समान संख्यामा सेयर बाँडफाँट गरिनेछ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
कम्पनीले १३.५ मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ।
उक्त आयोजनाको कुल लागत २ अर्ब ७१ करोड ९० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत करिब २० करोड रुपैयाँ रहेको छ।
आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै ३१ वर्षभन्दा बढी बाँकी रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार साधारण अवस्थामा लगानी फिर्ता हुने अवधि ८.१७ वर्ष र छुट दर (डिस्काउण्ट) मा १५.७७ वर्ष रहेको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।






