अब शुक्रबार पनि शेयर कारोबार खोल्ने नेप्से सञ्चालक समितिको निर्णय

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अबदेखि शुक्रबार पनि सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ।

सरकारले इन्धन खपत घटाउने उद्देश्यसहित आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्सेले कारोबार तालिका परिमार्जन गरेको हो।

नेप्सेको सञ्चालक समितिको बैठकले सातामा पाँच दिन नियमित कारोबार सुनिश्चित गर्न शुक्रबार बजार खुला गर्ने निर्णय गरेको हो।

नयाँ व्यवस्थाअनुसार अब आइतबार बजार बन्द रहनेछ भने शुक्रबार नियमित कारोबार हुनेछ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईँ ले शुक्रबारदेखि कारोबार सञ्चालन गर्ने निर्णय भएको जानकारी दिएका छन्।

उनका अनुसार शुक्रबार कार्यालय समय साँझ ५ बजेसम्म कायम रहनेछ र सोही दिन सेयर किनबेच पनि हुनेछ।

नेप्सेले यसअघि पनि यस्तै व्यवस्था लागू गरिसकेको थियो। सरकारले २०७९ जेठ १ गतेदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गर्दा नेप्सेले सोमबारदेखि शुक्रबारसम्म कारोबार सञ्चालन गरेको थियो। पछि आइतबारको बिदा खारेज भएपछि बजार पुरानै तालिकामा फर्किएको थियो।

हालै मन्त्रिपरिषद्ले बढ्दो इन्धन खपत र वैदेशिक मुद्रा सञ्चितिमा परेको दबाबलाई मध्यनजर गर्दै आइतबार सबै सरकारी कार्यालयमा बिदा दिने निर्णय गरेको छ।

सोही निर्णयअनुसार नेप्सेले पनि लगानीकर्ताको सुविधा र बजारको निरन्तरतालाई ध्यानमा राख्दै शुक्रबार कारोबार सञ्चालन गर्ने व्यवस्था मिलाएको हो।

यसअघि शुक्रबार र शनिबार बजार बन्द हुँदै आएकोमा अब नयाँ व्यवस्थाअनुसार शनिबार र आइतबार बजार बन्द रहनेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *