स्वास्थ्य मन्त्रालयद्वारा उच्चस्तरीय समिति गठन

काठमाडौं । निशा मेहता नेतृत्वको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवालाई पारदर्शी, प्रविधिमैत्री र नागरिकमुखी बनाउने उद्देश्यसहित उच्चस्तरीय समिति गठन गरेको छ।

मन्त्रालयले अतिरिक्त सचिव श्रीकृष्ण श्रेष्ठ को संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको हो।

मन्त्रिस्तरीय निर्णयमार्फत गठन गरिएको उक्त समितिलाई स्वास्थ्य सेवा सुधारसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारी तोकिएको मन्त्रालयका सूचना अधिकारी डा भक्त केसी ले जानकारी दिए।

समितिलाई १५ दिनभित्र ‘फ्रि हेल्थ पोर्टल’ निर्माण गरी कार्यान्वयनमा ल्याउने, बिरामीको उपचार इतिहास, रिफरल, पुनःसेवा तथा क्लिनिकल फलोअप व्यवस्थित गर्ने गरी डिजिटल, एकीकृत र अन्तरआवद्ध स्वास्थ्य सूचना प्रणाली तीन महिनाभित्र विकास गर्ने कार्यादेश दिइएको छ।

यस्तै, अनावश्यक रूपमा निजी अस्पतालमा बिरामी रिफर गर्ने प्रवृत्ति नियन्त्रण गर्न स्पष्ट रिफर प्रोटोकल लागू गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ।

सरकारी अस्पतालमा स्वास्थ्यकर्मीको हाजिरी अनुगमन गर्ने तथा अस्पताल फार्मेसीमा औषधिको मौज्दात र मूल्य देखिने डिजिटल प्रणाली १५ दिनभित्र सञ्चालनमा ल्याउने निर्देशनसमेत दिइएको मन्त्रालयले जनाएको छ।

समितिलाई प्रारम्भिक प्रतिवेदन १५ दिनभित्र पेश गर्न समयसीमा निर्धारण गरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *