विद्युतीय भुक्तानी बढ्यो, एटीएममा उस्तै आकर्षण

पछिल्ला वर्षहरूमा विद्युतीय प्रणालीमार्फत भुक्तानी गर्ने क्रम बढेको सरकारी तथ्यांकहरूले देखाएका छन् । वित्तीय कारोबारका लागि बैंकसम्म पुग्नु नपर्ने, आफू रहेको स्थानबाट पायक पर्ने समयमा भुक्तानी गर्न सकिनेलगायत कारण विद्युतीय भुक्तानीमा नागरिकको आकर्षण बढेको जानकारहरू बताउँछन् । २०७८ वैशाखदेखि फागुनसम्म विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य सुधार भएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको भनाइ छ ।

‘उक्त अवधिमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट, क्यूआर कोड, पीओएस, ई–कमर्सलगायत विभिन्न माध्यमबाट करिब १ सय ३६ खर्ब रुपैयाँबराबरको कारोबार भएको छ,’ राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सवका अवसरमा गभर्नर अधिकारीले भनेका थिए, ‘जसअनुसार रियल टाइम ग्रस सेटेलमेन्ट ९आरटीजीएस० २०७८ वैशाखदेखि फागुनसम्म ३ सय २६ खर्ब रुपैयाँ, ६८ करोड अमेरिकी डलर, २८ करोड युरो, ३२ लाख जीबीपी र २२ अर्बबराबर जापानी मुद्रा कारोबार भएको छ ।’

राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार गत फागुनमा विद्युतीय भुक्तानीअन्तर्गत मोबाइल बैंकिङमार्फत १ खर्ब ७ अर्ब ११ करोड ९० लाख रुपैयाँ भुक्तानी भएको देखिन्छ । उक्त अवधिमा इन्टरनेटको पहुँच र मोबाइल बैंकिङको बढ्दो प्रयोगका कारण विद्युतीय भुक्तानीको संख्या र परिमाण दुवै बढेको हो । फागुनमा भुक्तानीको संख्या १ करोड ५५ लाख ५९ हजार छन् । माघमा एक करोड ३८ लाख ४४ हजार भुक्तानीको संख्या हुँदा ९२ अर्ब ७६ करोड ८० लाख भुक्तानी भएको छ । पुसमा १ करोड ३५ लाख १८ हजार वटा कारोबार हुँदा ९४ अर्ब ४० करोड ७० लाख भुक्तानी भएको छ । मोबाइल बैंकिङमार्फत मंसिरमा ८८ अर्ब ५३ करोड १० लाख, कात्तिकमा ७८ अर्ब १५ करोड ७० लाख भुक्तानी भएको छ । असोजमा ८७ अर्ब ७३ करोड २० लाख, भदौमा ७४ अर्ब ३१ करोड र साउनमा ७२ अर्ब ८७ करोड ३० लाख रुपैयाँ भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांक छ । मोबाइल बैंकिङसँगै इन्टरनेट बैंकिङ प्रयोग पनि बढ्दो अवस्थामा रहेको बैंकको तथ्यांकले देखाउँछ ।

इन्टरनेट बैंकिङमार्फत फागुनमा २ लाख ७३ हजार वटा कारोबार हुँदा १३ अर्ब ७३ करोड ९० लाख रुपैयाँ भुक्तानी भएको छ । साउनको तुलनामा इन्टरनेट बैंकिङमार्फत हुने भुक्तानी घट्दै गएको बैंकको तथ्यांक छ । साउन ३ लाख ४० हजार वटा कारोबार हुँदा १५ अर्ब १७ करोड १० लाख रुपैयाँ भुक्तानी भएको थियो । साउनयता १५ अर्बसम्मको भुक्तानी भएको कुनै तथ्यांक छैन । भदौ १३ अर्ब ५० करोड ४० लाख, असोजमा १३ अर्ब ३४ करोड ४० लाख, कात्तिक ११ अर्ब ८३ करोड २० लाख, मंसिरमा १२ अर्ब ७३ करोड ५० लाख रुपैयाँ भुक्तानी भएको हो । माघमा १२ अर्ब ८९ करोड ९० लाख र पुसमा १३ अर्ब ४९ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको छ ।

मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङपछि क्यूआर प्रणालीमार्फत गरिने भुक्तानी सबैभन्दा बढी छ । साना र खुद्रा भुक्तानीका लागि सहज हुने हुँदा क्यूआर कोडमा आधारित भुक्तानीको परिमाणसमेत बढ्दै गएको छ । फागुनमा क्यूआरमार्फत २३ लाख ७ हजार कारोबार हुँदा ७ अर्ब ७६ करोड २० लाख भुक्तानी भएका छन् । मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमा भुक्तानी घट्ने र बढ्ने हुने गरे पनि चालु आर्थिक वर्षको पहिलो ८ महिनामा क्यूआरमार्फत हुने भुक्तानी बढ्दै गएको छ । माघमा ६ अर्ब ८९ करोड २० लाख, पुसमा ६ अर्ब ५२ करोड ५० लाख, मंसिरमा ६ अर्ब २८ करोड २० लाख भुक्तानी भएको बैंकको तथ्यांक छ । कात्तिकमा ५ अर्ब ३६ करोड २० लाख, असोज ६ अर्ब ९ करोड ७० लाख, भदौमा ५ अर्ब ८५ करोड ७० लाख र साउनमा ५ अर्ब ५ करोड ६० लाख भुक्तानी भएको राष्ट्र बैंकको मासिक विवरणमा उल्लेख छ ।

मोबाइल तथा इन्टरनेट बैंकिङ र क्यूआरलगायतमा प्रयोगकर्ता र भुक्तानी बढ्दै गएको देखिए पनि एटीएममा कमी आएको छैन । चालु आर्थिक वर्षको ८ महिनामा सबैभन्दा बढी असोजमा ८२ लाख ९९ हजार कारोबार हुँदा ७६ अर्ब ५३ करोड ७० लाख भुक्तानी भएको छ । एटीएममार्फत फागुनमा ८५ लाख ७२ हजारवटा कारोबार हुँदा ६९ अर्ब ६१ करोड ६० लाख रुपैयाँ नगद निकालिएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार माघमा ६२ अर्ब ४५ करोड ८० लाख, पुसमा ६९ अर्ब २९ करोड २० लाख, मंसिरमा ५९ अर्ब ९० करोड ६० लाख र कात्तिकमा ६२ अर्ब ८१ करोड ७० लाख रुपैयाँ निकालिएको हो । यस्तै भदौमा ७० अर्ब १३ करोड २० लाख र साउन ६५ अर्ब ३७ करोड ७० लाख रुपैयाँ एटीएममार्फत नगद भुक्तानी गरिएको राष्ट्र बैंकको तथ्यांक छ । कान्तिपुरमा प्रकाशित छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *