वीरगञ्ज। चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड बराबरका वस्तु तथा सामान आयात भएका छन्।
वीरगञ्ज भन्सार कार्यालय का अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो आयात रु ५८ अर्ब ९१ करोड अर्थात् करिब ११ प्रतिशतले बढी हो। गत आवको सात महिनामा भने रु पाँच खर्ब ३६ अर्ब ५५ करोड बराबरका सामान आयात भएका थिए।
कार्यालयका सूचना अधिकृत उदयसिंह विष्ट का अनुसार आयातमा पेट्रोलियम पदार्थ र फलामजन्य सामग्रीको हिस्सा उल्लेखनीय रहेको छ। चालु आवको सात महिनामा मात्रै रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरका पाँच प्रकारका पेट्रोलियम पदार्थ आयात भएका छन्।
त्यसैगरी सोही अवधिमा रु ५२ अर्ब ७५ करोड बराबरका फलाम तथा फलामजन्य सामग्री, रु ४२ अर्ब ४८ करोडका मेसिनरी पार्टपुर्जा, रु ४१ अर्ब २० करोडको भटमासको कच्चा तेल, रु ३० अर्ब ९१ करोड बराबरका विद्युतीय उपकरण तथा पार्टपुर्जा, रु २८ अर्ब ५९ करोडका मलखाद र रु २३ अर्ब ७१ करोड बराबरका कपडा आयात भएको तथ्यांकले देखाएको छ।






