आयोगमा जेलरको बयान – ‘रवि लामिछाने नख्खु जेल तोडेर भागेका हुन्’

काठमाडौं । गत भदौमा भएको ’जेन–जी’ आन्दोलनका क्रममा ललितपुरस्थित नख्खु कारागारमा भएको तोडफोड र कैदीबन्दी फरार भएको घटनाबारे सनसनीपूर्ण तथ्य बाहिर आएको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको ८८९ पृष्ठ लामो प्रतिवेदनअनुसार सहकारी ठगी मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुलहुज्जत गर्दै कारागार तोडेर भागेको खुलेको हो ।

नख्खु कारागारका जेलर सत्यराम जोशीले आयोगसमक्ष दिएको बयानमा भदौ २३ गते साँझदेखि नै कारागारभित्र तनावपूर्ण स्थिति सिर्जना भएको उल्लेख गरेका छन्। बाहिर ठूलो भिडले आगजनी र ढुङ्गामुढा सुरु गरेपछि कारागारभित्रका कैदीहरूले पनि विद्रोह सुरु गरेका थिए । जेलर जोशीका अनुसार, “रवि लामिछाने बाहिर जान हुने, हामी किन नहुने?“ भन्दै कैदीहरू आक्रोशित भएका थिए । सोही क्रममा सुरक्षा संयन्त्र कमजोर भएको मौका छोपी लामिछानेले जेलर र कर्मचारीलाई धम्काएर एउटा पत्र बनाउन लगाई कारागारबाट निस्किएको दाबी गरिएको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार त्यस दिन नख्खु कारागारबाट कुल ६६७ जना कैदी–थुनुवाहरू फरार भएका थिए, जसमध्ये अहिलेसम्म ४०९ जना मात्र पुनः सम्पर्कमा आएका छन् । सो घटनामा कारागारको भौतिक संरचनामा मात्रै करिब ४५ लाख रुपैयाँ बराबरको क्षति पुगेको जेलर जोशीले जानकारी दिएका छन् ।

डिल्लीबजार लगायतका अन्य कारागारबाट पनि कैदी भागेको हल्ला फैलिएपछि नख्खुमा स्थिति नियन्त्रण बाहिर गएको बयानमा भनिएको छ । यसैबीच, कारागार प्रशासनले भदौ २७ गते नै एक सार्वजनिक सूचना जारी गर्दै लामिछानेसहित फरार सबै कैदीबन्दीहरूलाई तुरुन्त आत्मसमर्पण गर्न आह्वान गरेको थियो। प्रशासनले फरार अवस्था लम्बिँदै गएमा कानुन बमोजिम थप कडा सजाय हुने र भविष्यमा पाउने कानुनी सुविधाहरू समेत गुम्न सक्ने चेतावनी दिएको छ। कारागारका एक अधिकारीले नाम नखुलाउने सर्तमा बताएअनुसार रविकै उक्साहट र नेतृत्वमा अन्य कैदीहरू पनि फरार भएका थिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *