मध्यपूर्व तनावको प्रभावः कोइला र सिमेन्टकाे मूल्य अकासियो

काठमाडौं। मध्यपूर्वमा चर्किएको तनावको प्रभाव नेपाली उद्योग क्षेत्रमा देखिन थालेको छ। ऊर्जा, कच्चा पदार्थ र ढुवानी लागत एकैसाथ बढ्दा उद्योगहरू दबाबमा परेका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत उद्योग समितिका सभापति राजेशकुमार अग्रवालका अनुसार अवस्था केवल मूल्य वृद्धिमा सीमित नरही उत्पादन क्षमतामै संकुचन आउने चरणमा पुगेको छ।

ग्यास अभाव र पेट्रोलियम पदार्थको मूल्यवृद्धिले उद्योग सञ्चालन महँगिएको छ। विशेषगरी प्लास्टिक उद्योग बढी प्रभावित भएका छन्, जसले उत्पादन घट्दा बजारमा अभाव र मूल्य वृद्धि भएको छ।

सिमेन्ट उद्योगमा पनि समस्या चर्किएको छ। सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुका अनुसार बोराको अभाव र मूल्यवृद्धिले उत्पादन प्रभावित भएको छ। बोराको मूल्य करिब ६५ प्रतिशतले बढेर प्रतिवटा २६ रुपैयाँसम्म पुगेको छ।

त्यस्तै, अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य बढ्दा सिमेन्ट र स्टील उद्योगमा लागत थप चर्किएको छ। डिजेल महँगिँदा ढुवानी खर्च पनि बढेको छ।

उद्योगीहरूका अनुसार यो अवस्था ‘कस्ट पुश इन्फ्लेसन’को उदाहरण हो, जहाँ लागत वृद्धि भएपछि मूल्य बढाउन बाध्यता हुन्छ। तर सीमित क्रयशक्तिका कारण मूल्य वृद्धि दीर्घकालीन समाधान नहुने उनीहरूको भनाइ छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *