काठमाडौं। शेरबहादुर देउवा र शेखर कोइराला समूहले नेपाली कांग्रेस भित्र छुट्टै केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेका छन्।
आइतबार धुम्बाराहीमा बसेको तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा.शेखर कोइरालासहितका निवर्तमान कार्यसमिति र कार्यसम्पादन समितिमा रहेका नेताहरूको बैठकले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएर निर्वाचनको समीक्षा गर्ने निर्णय गरेको नेता मीन विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार बैठक बोलाउने जिम्मेवारी तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको छ । ‘हाम्रो केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समित बैठक बोलाउने र चुनावी समीक्षा गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘मिति र स्थानको बारेमा कार्यवाहक सभापति (तत्कालीन)ज्यूले शीर्ष नेताहरूसँग छलफल गरेर तय गर्नुहुनेछ ।’
बैठकमा पार्टीको आगामी कार्यनीतिको बारेमा छलफल गर्ने उद्देश्य रहेको विश्वकर्माले जानकारी दिए । देउवा समूहको निर्णयले कांग्रेसभित्रको विवाद थप चर्किने देखिएको छ ।






