२२ वर्षमै अर्बपति बने सूर्य मिधा, एआई स्टार्टअपबाट विश्वकै कम उमेरका बिलिनेयर

काठमाडौं — विश्वभर प्रविधिको तीव्र विकाससँगै ज्ञान आर्जन गर्ने प्रक्रिया झन् सहज बन्दै गएको छ ।

यही परिवेशलाई उपयोग गर्दै युवा पुस्ताले नवीन उत्पादन र सेवा विकासमा उल्लेखनीय उपस्थिति जनाइरहेका छन् ।

कतिपयले कम उमेरमै ठूलो आर्थिक सफलता हासिल गर्नसमेत सफल भएका छन् ।

फोर्ब्स पत्रिकाले हालै सार्वजनिक गरेको अर्बपति सूचीअनुसार ३० वर्षमुनिका ३५ जना अर्बपति सूचीकृत भएका छन् ।

तीमध्ये भारतीय मूलका अमेरिकी उद्यमी सूर्य मिधा विश्वकै सबैभन्दा कम उमेरका स्वनिर्मित अर्बपति बनेका छन् । उनले २२ वर्षको उमेरमै यो उपलब्धि हासिल गरेका हुन् ।

यसअघि यो कीर्तिमान फेसबुकका संस्थापक मार्क जकरबर्गको नाममा थियो, जसले २३ वर्षमै अर्बपति बन्ने सफलता पाएका थिए ।

मिधाले आफ्ना सहपाठी ब्रेन्डन फुडी र आदर्श हिरेमथसँग मिलेर ‘मर्कोर’ नामक एआई आधारित भर्ती स्टार्टअप स्थापना गरेका थिए ।

उक्त कम्पनीले गत वर्षको अन्त्यतिर १० अर्ब डलर मूल्यांकनमा ३५० मिलियन डलर लगानी जुटाएको थियो ।

फोर्ब्सका अनुसार मिधाको कुल सम्पत्ति करिब २.२ अर्ब डलर पुगेको छ । कम्पनीमा फुडी प्रमुख कार्यकारी अधिकृत, हिरेमथ प्रमुख प्रविधि अधिकृत र मिधा सञ्चालक समिति अध्यक्षका रूपमा कार्यरत छन् ।

मिधाको जन्म अमेरिकाको माउन्टेन भ्यूमा भएको हो भने बाल्यकाल क्यालिफोर्नियाको सान होजेमा बितेको थियो । उनका अभिभावक भारतको दिल्लीबाट अमेरिका बसाइँ सरेका थिए ।

विद्यालय जीवनमै उनी राष्ट्रिय स्तरका वाद–विवाद प्रतियोगितामा विजेता बनेका थिए, जसले उनको विश्लेषण र सञ्चार क्षमता झन् मजबुत बनाएको थियो ।

उनले जर्जटाउन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय अध्ययनमा उच्च शिक्षा हासिल गरेका थिए ।

सोही समयमा हिरेमथ हार्वर्ड विश्वविद्यालयमा अध्ययनरत थिए भने फुडी जर्जटाउनमै अर्थशास्त्र पढिरहेका थिए । उनीहरूले मिलेर नीतिगत बहसका तीनवटा राष्ट्रिय प्रतियोगिता जितेका थिए ।

‘मर्कोर’ प्लेटफर्मले कृत्रिम बुद्धिमत्ता (एआई) आधारित अवतारमार्फत आवेदकहरूको अन्तर्वार्ता लिने र योग्य उम्मेदवारलाई विभिन्न कम्पनीसँग जोड्ने काम गर्छ ।

यसले भर्ती प्रक्रियालाई आधुनिक र प्रभावकारी बनाउँदै दक्ष जनशक्ति छनोटमा प्रविधिको प्रयोग विस्तार गरिरहेको छ ।

हाल विश्वका ठूला प्रविधि कम्पनीहरूले समेत इन्जिनियर र अनुसन्धानकर्ता भर्नाका लागि यही प्लेटफर्म प्रयोग गरिरहेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *