कैलाली भन्सारद्वारा ७ महिनामा ५ अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली । कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म ७ महिनामा कुल पाँच अर्ब ४० करोड ६७ लाख राजस्व सङ्कलन गरेको छ ।

भन्सार महसुलतर्फ २ अर्ब ८४ लाख, मूल्य अभिवृद्धि करतर्फ २ अर्ब ७ करोड ५९ लाख, अन्तःशुल्क १० करोड ५६ लाख र अन्यतर्फ १ अर्ब २१ करोड ६६ लाख राजस्व सङ्कलन भएको सूचना अधिकारी प्रकाश तिमिल्सिनाले जानकारी दिए ।

भन्सार कार्यालयको वार्षिक लक्ष्य ९ अर्ब ७१ करोड १५ लाख रहेको छ भने आठ महिनामा सङ्कलन गरिएको राजस्व वार्षिक लक्ष्यको ५५.६७ प्रतिशत मात्र हो। चालु आर्थिक वर्षमा हालसम्म कुनै पनि महिनामा लक्ष्य पूर्ण रुपमा पूरा हुन सकेको छैन ।

तिमिल्सिनाका अनुसार, साउनमा ५७ करोड ८० लाख, भदौमा ५३ करोड ७० लाख, असोजमा ६७ करोड ७८ लाख, कात्तिकमा ७२ करोड ५४ लाख, मङ्सिरमा ६८ करोड ९१ लाख, पुसमा ७४ करोड ६५ लाख, माघमा ६८ करोड ८२ लाख र फागुनमा ७६ करोड ४४ लाख मात्रै राजस्व सङ्कलन भएको छ ।

गत आर्थिक वर्षमा ११ अर्ब १६ करोड २६ लाखको वार्षिक लक्ष्य रहेकामा ८ अर्ब ६६ करोड ९८ लाख मात्र सङ्कलन भएको थियो, जुन लक्ष्यको ७७.६७ प्रतिशत मात्र हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *