सुर्खेत । सुर्खेतमा बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको घटनाबारे थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले गर्ने भएको छ । सुर्खेत प्रहरीले बुधाबार उक्त घटनाको थप अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेको थियो ।
प्रहरी निरीक्षकको कमान्डमा रहेको ब्युरोको विज्ञ टोली बिहीबार वीरेन्द्रनगर आइपुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए।
उनका अनुसार घटनासँग सम्बन्धित मोबाइलसहितका विभिन्न विद्युतीय सामग्री अनुसन्धानका लागि प्रयोगशालामा पठाइएको छ। पीडित र शंकास्पद पक्षसँग सम्बन्धित सामग्री केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टेककोलोजिकल र बायोसेरोलोजिकल परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ।
यसैबीच, कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगञ्जबाट पोलिग्राफ परीक्षण गर्ने टोली पनि सुर्खेत पुगेको छ। पोलिग्राफ परीक्षणबाट बयानको सत्यता जाँच गर्न सहयोग पुग्ने प्रहरीको भनाइ छ।
अहिलेसम्म पोस्टमार्टम रिपोर्ट आइसकेको छ । फरेन्सिक ल्याबमा पीडित र पीडक परिवार दुवै जनाको मोबाइल लगायत विद्युतीय सामाग्रीहरू अनुसन्धानका लागि पठाएको र त्यसको रिपोर्ट आइनसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए ।
यता, मृतक किशोरीका बुबा इन्द्रबहादुर विक नेपाली सेनाबाट अवकाश पाएपछि ६ वर्षदेखि दुबई प्रहरीमा कार्यरत छन् । उनी घटेपछि हिजोसाझ मात्रै वीरेन्द्रनगर पुगेका छन् ।
प्रहरीका अनुसार हालसम्म परिवारजनले बालिकाको शव बुझेका छैनन् । पीडित परिवारले दिएको जाहेरीका आधारमा शव परीक्षणका लागि थप अनुसन्धान गर्न भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर शव परीक्षण गरी त्यसको प्रतिवेदन दिएको छ ।
सो प्रतिवेदनअनुसार जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको उल्लेख छ ।
गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिसाको फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बलात्कार पछि हत्या भएको थियो । मृतकको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका रहेको प्रहरीले जनाएकाे छ ।






