काठमाडौं । धनुषा क्षेत्र नं. १ को निर्वाचन विवादबारे राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ भइरहेको छ।
निर्वाचन आयोगले कालोसूचीमा परेको भन्दै उनको उम्मेदवारी खारेज गरेपछि उनले सर्वोच्चमा निवेदन दिएका हुन्। न्यायाधीश नृपध्वज निरौलाको इजलासले सुनुवाइ गरिरहेको छ।
आयोगले मतगणना जारी राख्न तर अन्तिम नतिजा प्रकाशित नगर्न निर्देशन दिएको थियो। मतगणना सकिए पनि आधिकारिक परिणाम सार्वजनिक भएको छैन।
अनौपचारिक विवरणअनुसार किशोरी साहले २० हजारभन्दा बढी मत पाएका छन्। अन्य उम्मेदवारमध्ये मातृका प्रसाद यादवले १०,४०३, रामपल्टन साहले ९,५०२ र रामचन्द्र मण्डलले ९,३१५ मत पाएका छन्।
यसैबीच, उम्मेदवारी खारेज भएकाले साहका मत बदर हुने दाबी गर्दै नेकपाका उम्मेदवार मातृका प्रसाद यादवले आफूलाई विजयी घोषणा गर्न माग गरेका छन्।







