निर्वाचन अवधिमा बैंक सेवा निरन्तर सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंक ले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनलाई लक्षित गर्दै सार्वजनिक बिदाको अवधिमा समेत बैंक तथा वित्तीय सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

बैंक तथा वित्तीय संस्था नियमन विभागद्वारा जारी सूचनाअनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई निर्वाचनसम्बन्धी वित्तीय कारोबार प्रभावित नहुने गरी सेवा प्रवाह सुनिश्चित गर्न भनिएको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका क्रममा सरकारले विभिन्न मितिमा सार्वजनिक बिदा घोषणा गरेकाले सो अवधिमा समेत आवश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकले आग्रह गरेको हो।

राष्ट्र बैंकद्वारा जारी सूचनामा सरकारी कारोबारसँग सम्बन्धित भुक्तानी व्यवस्था, राजस्व दाखिला, निर्वाचन प्रयोजनका लागि खोलिएका बैंक खातामार्फत हुने आर्थिक कारोबार तथा राजनीतिक दल र उम्मेदवारका नगद, चेक तथा अन्य भुक्तानी सेवा अवरुद्ध हुन नदिन विशेष व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

राष्ट्र बैंकले सार्वजनिक बिदाका दिनसमेत तोकिएका शाखा वा काउन्टरमार्फत आवश्यक सेवा उपलब्ध गराउन तथा निर्वाचन अवधिमा वित्तीय प्रणाली सहज राख्न बैंक तथा वित्तीय संस्थालाई समन्वयात्मक ढंगले काम गर्न आग्रह गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *