सहकारी ठगीका ‘क्रियटिभ डाइरेक्टर’ विपिन आचार्य दाङको चुनावी मैदानमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी मधेस प्रदेश संस्थापक सभापति ममता शर्माले केहीदिन अघि भनेकी थिइन्,‘रास्वपा जान्नेलाई छान्ने पार्टी होइन मुद्दै मुद्दा भएकाहरुलाई छान्ने पार्टी हो ।’

मधेशमा रास्वपालाई अंकुरण गराउने शर्माले अहिले सोही पार्टी परित्याग गरेकी छिन् । जान्नेलाई छान्ने भन्ने पार्टीले अहिले मुद्दा लागेकाहरुलाई उमेद्वार बनाउने मापदण्ड बनाएको उनको गम्भिर आरोपलाई पुष्टि हुने आधारहरु प्रशस्त छन् । ममताले भनेजस्तै रास्वपाले दाङ क्षेत्र नम्बर २ मा जिवि राइसँगै सहकारी ठगीमा संलग्न रहेका विपिन कुमार आचार्यलाई उम्मेदवार बनाएको छ । सहकारी ठगीमा संलग्न रहेका आचार्य आखिर कसरी मुछिएका थिए भन्ने विस्तृत विवरण हामी तपाईंलाई जानकारी गराउँदैछौँ ।

तत्कालिन सांसद सुर्य थापा नेतृत्वको सहकारी संस्था रकम दुरुपयोग सम्बन्धी विशेष छानबीन समिनिको प्रतिवेदन अनुसार समस्या सगोरखा मिडियामा देशभरका ६ वटा सहकारीबाट २ अर्ब ५८ करोड बराबर रकम अपचलन भएको छ । गोरखा मिडिया नेटवर्कद्वारा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनमा ‘क्रियटिभ डाइरेक्टर’ पदमा कार्यरत थिए विपिन कुमार आचार्य ।

गोरखा मिडिया नेटवर्क प्रा.लीबाट आर्थिक वर्ष २०७७।७८ र ७८।७९ मा नोबडी प्रडक्सन प्रा.लीलाई ४ करोड २१ लख ९३ हजार ७ सय ५० रुपैयाँ पेस्की दिएको प्रतिवेदनमा उल्लेख छ । समिति समक्ष आचार्यले दिएको बयानमा आफ्नो श्रीमति सुरक्षा अधिकारीको नाममा नोबडी प्रडक्सन प्रा..ली नामक कम्पनि दर्ता रहेको स्विकार गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री रहेका आचार्यले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), जिल्ला प्रहरी कास्की र पोखरा महानगरपालिकाको अध्ययन प्रतिवेदन तथा रूपन्देही जिल्ला अदालतमा दायर मुद्दाको विवरणमा विभिन्न मितिमा सहकारीबाट रकम लिएको उल्लेख छ । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट आचार्यका नाममा २ पटक गरेर २ करोड ३१ लाख १५ हजार रुपैयाँ भुक्तानी भएको देखिन्छ ।

प्रहरीको अनुसन्धानपछि २०८१ वैशाखमा रूपन्देही जिल्ला अदालतमा दायर अभियोगपत्रमा सुप्रिम सहकारीबाट आचार्यको नाममा गोर्खा मिडियाको ग्लोबल आईएमई बैंकको खातामार्फत २०७८ पुस १२ मा १ करोड ५० लाख रुपैयाँ ‘ट्रान्सफर’ भएको थियो । सेवा शुल्कबापत ६ लाख १५ हजार कट्टा गरी उक्त रकम प्रवाह भएको अभियोगपत्रमा उल्लेख छ ।

त्यस्तै सुप्रिम सहकारीबाटै २०७७ कात्तिक ६ मा आचार्यको नोबडी प्रोडक्सन प्रालिको नाममा एनआईसी एसिया बैंकमा रहेको खातामा ७५ लाख रुपैयाँ ऋण प्रवाह भएको पनि अभियोगपत्रमा उल्लेख छ । सोही अभियोगपत्रमा रास्वपा सभापति लामिछानेले पनि १ करोड रुपैयाँ ऋण लिएको उल्लेख छ । तर, आचार्य र लामिछानेमाथि कुनै सोधपुछ नगरी तथा प्रतिवादी नबनाई मुद्दा दायर गरिएको थियो । प्रहरी अनुसन्धान एवं मुद्दा दर्ताका बेला लामिछाने गृहमन्त्री थिए ।

आचार्यले सूर्यदर्शन सहकारीबाट ११६–०००४६१६ खाता नम्बरमा ०७८ पुस ६ मा १ करोड ऋण लिएको पोखरा महानगरपालिकाको विज्ञ टोलीले तयार गरेको प्रतिवेदनमा उल्लेख छ । आचार्यले लिएको ऋणको ब्याज पुँजीकरणपश्चात् १ करोड ८ लाख ३२ हजार ४ सय ६६ रुपैयाँ तिर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । ऋण लिएयता आचार्यले साँवा–ब्याज भुक्तानी गरेका छैनन् ।

२०८१ भदौमा रूपन्देही अदालतले आचार्यकी पत्नी सुरक्षा अधिकारीलाई पनि पक्राउ गर्न अनुमति दिएको थियो । सुप्रिम सहकारीबाट आचार्य, अधिकारी र नोबडी प्रोडक्सन कम्पनीका नाममा २ करोड ३१ लाख १५ हजार रुपैयाँ रकम गएको देखिएको छ । नोबडी प्रोडक्सन अधिकारीका नाममा स्थापना गरिएको भए पनि त्यसमा हर्ताकर्ता आचार्य नै थिए । पोखराको सूर्यदर्शन सहकारीको बचत ठगीसम्बन्धी अनुसन्धानका क्रममा पनि कास्की प्रहरीले काठमाडौं पुगेर गत २०८१ भ्दौ ८ मा आचार्यसँग बयान लिएको थियो ।

अभियोग पत्रहरुमा जिवि राईको नाममा देखिने मोबाइल नम्बर समेत आचार्यले नै चलाउँदै आएको उल्लेख छ ।

यस क्षेत्रमा शंकर पोखरेल (नेकपा एमाले), किरणकिशोर घिमिरे (नेपाली कांग्रेस), विपिनकुमार आचार्य (राष्ट्रिय स्वतन्त्र पार्टी) र निर्मल आचार्य (नेपाली कम्युनिस्ट पार्टी) बीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ। ठूला दलका प्रभावशाली उम्मेदवार समेत मैदानमा उत्रिएकाले दाङ–२ को चुनावी माहोल रोचक बनेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *