उम्मेदवारको खर्च बैंक खाताबाट सञ्चालन गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले उम्मेदवारको खर्च बैंक खाताबाट सञ्चालन गर्न निर्देशन दिएको छ । आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०७९ मा उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा खाता खोली गर्नु पर्ने व्यवस्था छ ।

यस्तै निर्वाचन आयोग ऐन, २०७३ ले निर्वाचन खर्च सम्बन्धी व्यवस्था गरेको छ । सोही अनुरुप उम्मेदवारको खर्च बैंक खाताबाट सञ्चालन गर्न निर्देशन दिएको हो ।

उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नु पर्ने, यसरी तोकिएका पदाधिकारीको विवरण उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा जानकारी गराउनु पर्ने व्यवस्था रहेको छ ।

राजनीतिक दलले निर्वाचन सम्बन्धी खर्च गर्दा बैङ्क खाता मार्फत दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा खर्च गर्नु पर्ने, पच्चीस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्था मार्फत गर्नु पर्ने, व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिई उम्मेदवारको वा राजनीतिक दलको बैङ्क खातामा जम्मा गर्नु पर्ने, खर्चको बिवरण तथा बिल भरपाई राख्नु पर्ने पनि व्यवस्था रहेको छ ।

आम्दानी तथा खर्चको विवरण प्रचलित कानुन बमोजिम आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउनु पर्ने, आयोगले खर्चको बिल भरपाई तथा बैङ्क वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेश गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैङ्क वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नु पर्ने, निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपश्चात सार्वजनिक गरी प्रचलित निर्वाचन सम्बन्धी कानूनले तोकेको अवधिभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्नु पर्ने व्यवस्था रहेको छ ।

उल्लिखित व्यवस्था विपरीत हुने गरी कतिपय स्थानमा कार्य भैरहेको भन्ने जानकारी प्राप्त हुन आएकाले निर्वाचनमा खर्च गर्दा निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहिता, २०७९ को व्यवस्था बमोजिम गर्न राजनीतिक दल तथा उम्मेदवारको ध्यानाकर्षण गराउँदै सो बमोजिम गर्न गराउन सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिइएको आयोगले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *