बुटवल — सिद्धार्थ बैंक घोराही शाखाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सात वटा न्युरो आईसीयू बेड सहयोग गरेको छ। बिहीबार आयोजित कार्यक्रममा बैंकले न्युरो वार्ड सञ्चालनका लागि आवश्यक बेड हस्तान्तरण गरेको हो।
बैंकका लुम्बिनी तथा कर्णाली प्रदेश प्रमुख केशव खाती, घोराही शाखा प्रबन्धक वीरेन्द्र सिंह कार्की र तुलसीपुर शाखा प्रबन्धक किरण आचार्यले संयुक्त रूपमा प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्साल, निमित्त अस्पताल निर्देशक प्राडा जनार्दन पन्थी र न्युरो सर्जन डा. उपमा शर्मालाई बेड हस्तान्तरण गरे।
न्युरो सर्जरी सेवा सुरु भएसँगै उपचार सेवालाई प्रभावकारी र व्यवस्थित बनाउन सहयोग उपयोगी हुने निमित्त उपकुलपति लम्सालले बताए। उनले सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि प्रतिष्ठानसँग सहकार्यलाई निरन्तरता दिन बैंकसँग आग्रह गरे।
निमित्त अस्पताल निर्देशक पन्थीले न्युरो वार्ड सञ्चालनका लागि आवश्यक पूर्वाधार उपलब्ध गराएकोमा बैंकप्रति आभार व्यक्त गरे।
शाखा प्रबन्धक कार्कीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै आगामी दिनमा समन्वय र सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाए। प्रदेश प्रमुख खातीले पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नै बेड सहयोग गरिएको स्पष्ट पारे।







