काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हालसम्म २३ लाख ९३ हजार किसानलाई सूचीकरण गरिएको जनाएको छ ।
सूचीकरण हुन बाँकी करिब १७ लाख किसानलाई छिट्टै समेट्ने तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको हो ।
स्थानीय तहमा कर्मचारी व्यवस्थापन, राजनीतिक उतारचढाव र केही प्राविधिक कारणले १७ लाख ३७ हजार किसानको सूचीकरण ढिलाइ भएको बताइएको छ ।
बाँकी किसानलाई विद्युतीय सूचना प्रणालीमा आबद्ध गरी परिचयपत्र वितरण गर्ने योजना छ ।
परिचयपत्रका आधारमा मल, बिउ, अनुदान तथा अन्य सेवा–सुविधा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयअन्तर्गतको कृषि, सूचना तथा प्रशिक्षण केन्द्रका अनुसार सूचीकृत किसानलाई जमिनको क्षेत्रफल, उत्पादन र आम्दानीका आधारमा निर्वाहमुखी, साना, मझौला र ठूला किसान गरी चार वर्गमा विभाजन गरिनेछ ।
कृषि जनगणना, २०७८अनुसार देशभर ४१ लाख ३० हजार किसान रहेका छन् ।
जनगणनापछि केहीले कृषि पेसा छाडेका तथा नयाँ किसान थपिएका कारण संख्यामा सामान्य घटबढ हुन सक्ने मन्त्रालयले जनाएको छ ।






