काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैंक खातामार्फत मात्र खर्च गर्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ। बैंक खाता नखोली वा खाता खोलेर पनि बैंकिङ कारोबार नगरी खर्च गरे आचारसंहिता उल्लंघनमा कारबाही गरिने आयोगले चेतावनी दिएको हो।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार हालसम्म ९ वटा राजनीतिक दल र १ हजार ३ सय ८९ उम्मेदवारले बैंक खाता सञ्चालनमा ल्याएका छन्।
खाता सञ्चालन गर्ने राजनीतिक दलहरुमा नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी र नेपाल जनता संरक्षण पार्टी रहेका छन् ।
नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका ठूला राजनितिक दलहरुले समेत हालसम्म बैंक खाता सञ्चालनमा ल्याएका छैनन् । आयोगले बैंक खाता खोलेर बैंकिङ कारोबारमार्फत मात्र निर्वाचन खर्च गर्न आग्रह गरेको छ ।
२५ हजार रुपैयाँभन्दा बढी रकम प्राप्त गर्दा अनिवार्य रूपमा बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था रहेको आयोगका सूचना अधिकारी घिमिरेले जानकारी दिए ।
आचारसंहिताको दफा १६ अनुसार उम्मेदवारले उम्मेदवारी दर्ताकै क्रममा अनुमानित खर्च र स्रोत खुलाउनुपर्नेछ। साथै निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोली सबै आय–व्ययको विवरण सुरक्षित राख्न आयोगले आग्रह गरेको छ।







