मालपोत चाबहिलमा काज अराजकता: अवैध लेनदेन सहज बनाउने खेल

काठमाडौँ। मालपोत कार्यालय चाबहिलका कार्यालय प्रमुख दीपेन्द्र खत्रीमाथि काज व्यवस्थापनलाई व्यक्तिगत तथा आर्थिक स्वार्थअनुसार चलाएको गम्भीर आरोप लागेको छ । चाबहिलमा घर तथा झापामा प्रभावशाली सम्बन्ध रहेको बताइने खत्रीले दुई महिना अघि हेटौँडा मालपोत कार्यालयमा कार्यरत मेघराज निरौला (कर्मचारी सङ्केत नम्बर १९३२०५०) लाई विभागमार्फत् चाबहिल काजमा ल्याएको खुलेको छ ।

स्रोतका अनुसार बिचौलियामार्फत हुने लेनदेन सहज बनाउन निरौलालाई चाबहिल ल्याइएको थियो । तर अहिले निरौलाको काज अवधि सकिएर हेटौँडा फर्किनुपर्ने अवस्थामा, चाबहिलमै कार्यरत अर्का सुब्बा प्रकाश आचार्यलाई हेटौँडा काजमा पठाउन विभागमा सिफारिस गरिएको तथ्य बाहिर आएको छ ।

यस विषयमा विभागभित्रै प्रश्न उठेपछि ‘एउटालाई काजमै चाबहिल राख्ने र अर्कोलाई किन हेटौँडा पठाउने?’ भन्ने जिज्ञासामा महानिर्देशकले चाबहिलका प्रमुखले सचिव र आफूलाई समेत भनेपछि निर्णय गरिएको जवाफ दिएका छन् । यसले निर्णय प्रक्रिया पारदर्शी नभएको आशंका झनै गहिरिएको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभाग का महानिर्देशक शिव प्रसाद रेग्मी ले पनि अवैध लाभको लोभमा उक्त प्रक्रियामा सहयोग गरेको आरोप स्रोतहरूले लगाएका छन् । काज मिलानका नाममा एक कर्मचारीलाई आर्थिक लेनदेनका लागि अनुकूल वातावरण बनाइदिने र अर्कोलाई प्रतिकूल अवस्थामा धकेल्ने प्रवृत्तिले मालपोत कार्यालयभित्रको अनियमितताको थप संकेत गरेको छ ।

निर्णय प्रक्रियामा हालै कर्मचारी प्रशासनमा सरुवा भएका उपसचिव कृष्ण भण्डारी को समेत संलग्नता देखिएको बताइन्छ । विभागीय निर्णय र उपत्यकास्थित मालपोत कार्यालय प्रमुखहरूको कार्यशैलीले मालपोत कार्यालयहरू घुस र लेनदेनको ‘क्रीडा स्थल’ बन्दै गएको गम्भीर आरोप उठेको छ ।

काज सम्बन्धी पछिल्ला निर्णयले प्रशासनिक अराजकता मौलाउँदै गएको संकेत गरेको भन्दै सरोकारवालाले निष्पक्ष छानबिन र पारदर्शी कार्यप्रणालीको माग गरेका छन् । अन्यथा, मालपोत प्रशासनप्रति जनविश्वास थप क्षीण हुने उनीहरूको गुनासो छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *