बागलुङ। जिल्ला प्रहरी कार्यालय बागलुङले करिब दुई महिनाको अवधीमा १२३ थान अवैध भरुवा बन्दक बरामद गरेको छ। प्रहरीले जिल्लाको विभिन्न स्थानमाबाट भरुवा बन्दु बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त पाण्डेका अनुसार जिल्लाका विभिन्न जङ्गल, रुखको टोड्का, खोल्सा, मानिस नबस्ने घर गोठलगायतका ठाउँमा लुकाइछिपाई राखिएको अवस्थामा बन्दुक बरामद गरेको हो।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा अवैध हातहतियारको दुरुपयोग भई निर्वाचन तथा सार्वजानिक शान्ति सुरक्षामा खतरा उत्पन्न हुन सक्ने भन्दै हातहतियार खोजतलास अभियान चलाएको उनको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय बागलुङ तथा मातहत प्रहरी यूनिटबाट खटिएको विशेष अप्रेसन टोलीले स्थानीय नागरिकको सूचना तथा सहयोगमा इजाजतपत्र बिनाका भरुवा बन्दुक बरामद गरेको उनी बताउँछन्।
उनले भने, ‘निर्वाचनलाई लक्षित गरी हातहतियार खोजी र बरामद अभियान नै चलाएका छौँ, छोटो समयमै धेरै हातहतियार बरामद गर्न सफल भयौँ, अझै पनि हाम्रो अभियान जारी रहेको छ।’







