मुस्ताङ — चालू आर्थिक वर्षको सात महिनामा ३ लाख २५ हजार ५ सय ५८ पर्यटक मुस्ताङ भित्रिएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार साउनदेखि माघसम्म ६९ हजार ८ सय १४ विदेशी र २ लाख ५२ हजार ६ सय ६४ स्वदेशी पर्यटक जिल्लामा प्रवेश गरेका हुन्।
प्रहरीको तथ्यांकअनुसार राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै साउनमा १९ हजार ७ सय ८१, भदौमा २३ हजार २ सय ५, असोजमा ७५ हजार ५ सय ९९, कात्तिकमा ८३ हजार ७ सय ६६, मंसिरमा ४९ हजार ५०, पुसमा ३९ हजार १ सय ५३ र माघमा ३२ हजार ४ जना पर्यटक मुस्ताङ पुगेका छन्।
गत आर्थिक वर्षको सोही अवधिमा ३ लाख ४० हजार ७ सय २९ पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए। यस वर्ष भने १८ हजार १ सय ७१ (५.३३ प्रतिशत) पर्यटक घटेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेका अनुसार म्याग्दी–मुस्ताङ सिमाना घाँसामा सडकमार्ग हुँदै प्रवेश गर्ने पर्यटकको अभिलेख संकलन गरिन्छ।
पोखरा–जोमसोम हवाई सेवामार्फत र मनाङ हुँदै थोरङ्लापास पार गरेर मुस्ताङ भित्रिने पर्यटकको तथ्यांक सम्बन्धित प्रहरी इकाइले राख्ने गरेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ४ लाख ५४ हजार ३ सय २६ र २०८१/८२ मा ७ लाख ५ हजार ७ सय ७९ स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए।
राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक क्रमशः सहज बन्दै गएसँगै मुस्ताङमा पर्यटक आगमन बढ्दो क्रममा छ।
सार्क मुलुकका पर्यटकमध्ये अधिकांश भारतीय नागरिक मुक्तिनाथको दर्शन गरी फर्किने गरेका छन्।
अन्य विदेशी पर्यटक भने बेनी–जोमसोम सडकमार्ग वा मनाङ हुँदै थोरङ्लापास पार गरेर मुस्ताङ पुग्ने गर्छन्।
कागबेनीधाममा श्राद्ध गर्न तथा मुक्तिनाथ मन्दिर दर्शनका लागि आउने स्वदेशी पर्यटकको संख्या पनि बढ्दो छ।
मुस्ताङ पुग्ने पर्यटकमध्ये करिब तीन प्रतिशतले माथिल्लो मुस्ताङ भ्रमण गर्ने गरेको प्रहरीले जनाएको छ।
जोमसोम–कोरला सडक सहज भएसँगै पछिल्लो समय स्वदेशी पर्यटक कोरला नाकासम्म पुग्ने क्रम बढेको छ।






